सांसदहरूले उठाएका प्रश्नको नेता र मन्त्रीहरूले सोमबार जवाफ दिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
801
Shares
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबारसम्म चल्ने भएको छ । आइतबार संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेश,उच्च स्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरूलाई जानकारी दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
उनले बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उल्लेख गरे । उनले आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरूको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरूको जवाफ दिएर टुङ्गोमा पुगिने बताए । उनले बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेशका विषयमा सांसदहरूलाई प्रस्ट पारेको जानकारी दिए ।
उनले उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको उल्लेख गरे । उनले बैठकमा तीन जना विज्ञहरुले सांसदहरूलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरूको अन्तर बस्तुको विषयमा प्रकाश पार्ने काम समेत भएको बताए । उनले पार्टीभित्र धेरै विषयका वादविवाद भए पनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न कांग्रेसका नेताहरूले बोकेर हिँड्नुपर्ने कर्तव्य भएको बताए ।
उनले भने,‘आज विशेष गरी बैठकको उद्देश्यका विषयमा प्रकाश पारियो । गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेशका विषयमा सांसदहरूलाई प्रस्ट पारे । उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा गगन थापाले प्रस्तुत गरे । तीन जना विज्ञहरूले अध्यादेशमा आएका ऐनहरूको अन्तर्वस्तुको विषयमा प्रकाश गरे । अध्यादेशको आवश्यकता र अध्यादेशका कन्टेनहरु केके र समस्याका विषयमा खुलेर छलफल भएको छ । भोलीको बैठकमा सांसदहरूले बोल्ने क्रम शुरु हुन्छ । त्यसपछि मन्त्री र नेताहरूले जवाफ दिनेछन् । पार्टीभित्र धेरै विषयका वादविवाद हुन सक्छन् । बहस र छलफलहरू हुन सक्छन् । त्यस्ता विषयमा आन्तरिक बैठकहरूमा व्यापक गहन छलफल कांग्रेसले गर्छ । गर्न पाइन्छ । नेतृत्वको आलोचना पनि गर्न पाइन्छ तर पार्टीले एउटा निर्णय र निष्कर्ष निकाल्छ । कांग्रेसले ९५ प्रतिशत निर्णयहरू सहमतिमा हुन्छ । त्यो निर्णयलाई कार्यान्वयन गर्न कांग्रेसका नेताहरूले बोकेर हिँड्नुपर्ने कर्तव्य सबैको हुन्छ । आन्तरिक रूपमा व्यापक रूपमा छलफल गरौँ तर बाहिर गएपछि पार्टीको निर्णयलाई बोकेर हिँड्न पार्टी कार्यकर्ताको धर्म हो । त्यहीअनुसार अगाडि जानुपर्छ भन्ने मान्यता हो । बैठक भोलि सकिन्छ । सत्ता पक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरू बन्छ । संसदीय लोकतन्त्र भनेको बहुमतीय प्रणाली हो । बहुमतले शासन गर्छ ।’