arrow

चालीस अर्ब तान्दै राष्ट्र बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
nepal-rastra-bank-new-81-5-27.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । 

यसअघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएको छ । केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । 

निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । 

यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ४ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । 

यसअघि गत माघ ९ गते पनि २१ दिने निक्षेप संकलनको माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब खिच्न चाहेकोमा बैंकहरुले ७७ अर्ब ६५ करोड मात्र बुझाएका थिए ।  जसको औसत ब्याजदर २।९९ प्रतिशत कायम भएको थियो । 

माघ १३ गतेसम्म राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट तानेको र भुक्तानी दिन बाँकी रकम २ खर्ब ७९ अर्ब ७५ करोड रुपैयाँ छ । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको २ खर्ब ३४ अर्ब ९० करोड रुपैयाँ तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा रहेको ४४ अर्ब ८५ करोड रुपैयाँ परिपक्क हुन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ