नुवाकोट । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि विभिन्न तहमा छलफल चलाइरहेकै बेला काँग्रेस नेता रामशरण महतले पुरानै संरचनामा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संरचना अनुसार स्थानीय तहकै निर्वाचन गर्ने उद्घोष गरिसक्दा विभिन्न छलफलमा सहभागि हुँदै आएका नेता महतले पुरानै संरचनामा निर्वाचन गर्नु पर्ने बताएका हुन् ।
निर्वाचनका लागि पार्टी कार्यकर्तालाई तयार रहन समेत महतले भनेका छन् । दलहरुबीच स्थानीय तह वा निकाय कुन निर्वाचन गर्ने भन्नै अझै निक्र्योल हुन सकेको छैन । सर्वोच्च अदालतमा एमिकश क्युरीको सहयोगमा स्थानीय निकाय वा तह कुन् निर्वाचन गर्ने भन्ने बहस भइरहेको छ ।
गणेशस्थान माछापोखरी–चौघडा जोड्ने झोलुङगे पुलको शिलान्यास पछि शुक्रबार नेता महतले पुरानै संरचनाको स्थानीय निकाय निर्वाचमा जोड दिएका हुन् ।
नेता महतले भने, ‘पुरानो संरचनामा निर्वाचन होस् । यसका लागि मैलै पहिलेदेखि भन्दै आएको छु । निर्वाचन गर्न अहिले मतदाता नामावलीमा समस्या छैन ।’ नयाँ संरचनामा जाँदाखेरी धेरै झन्झट हुन्छ ।
नयाँ संरचनाको निर्वाचनका लागि प्रशासनिक संचरना नबनेको र भौतिक संरचनासमेत नबनेकाले निर्वाचन गरेर मात्र सरकारको जिम्मेवारी पूरा नहुने महतको भनाई छ ।
निर्वाचनको लागि आवश्यक स्रोत र सामग्रीसहित प्रशासनिक प्याकिङ चाहिने नेता महतले बताए । यस्तै, नेता महतले आफूले स्थानीय तह पुनःसंरचनामा आफ्नो निर्वाचन क्षेत्र २ मा पर्ने चौघडा गाविसलाई नफुटाउन आयोगमा निवेदन दिएको सुनाए ।
सरकारले नयाँ संरचना अनुसार निर्वाचन गर्ने बताइरहेकै बेला सरकारमा सहभागि दलकै नेताले नयाँ संरचना विरोधि अभिव्यक्ति दिन छोडेका छैनन् । उनीहरुले यथास्थितिलाईनै स्वीकार्न जोड बल गरिरहेका छन् ।