चीनमा देखिएको एचएमपीभी साधारण भाइरस भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
533
Shares
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) को साधारण भाइरस भएको जनाएको छ ।
मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
“जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ”, विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ ।
तथापि मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ ।
एचएमपीभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
यस्तै, बिरामीको नजिक-सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
यद्यपी चीनबाट फैलिन थालेको नयाँ भाइरस सरकारले भने जस्तो सामान्य भने होइन । चीनको कोभिड–१९ को उद्गम भएको पाँच वर्षपछि अर्को रहस्यमयी भाइरसले मानिसलाई त्रसित बनाएको छ। चिनियाँ अधिकारीहरूले देशका धेरै भागहरूमा यसको प्रकोपको सामना गरिरहेको बताएका छन् ।
यता यो भाइरस भारतमा पनि देखिएको छ । भारतमा सोमबार रातिसम्म छ जनामा यो संक्रमण भएको छ । पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको हो । कर्नाटक र अहमदाबादमा २-२ जना तथा बंगाल र गुजरातमा १-१ जना बच्चा संक्रमित पाइएका छन् ।
अहिलेसम्म २ महिनादेखि आठ महिने बच्चामा यो संक्रमण भएको पाइएको छ ।
यता भारत सरकारले आपतकाल घोषणा गर्ने विषयमा शनिबार संयुक्त बैठक डाकेको भए पनि चीनमा जस्तै असामान्य स्थिति नभएको भन्दै मौसमी फ्लुका रुपमा लिँदै यसको समाधान गर्ने बताएको थियो । यता नेपाल सरकारले पनि एचएमपीभीलाई सामान्य रुपमा लिएको छ ।
तर फ्लु भन्दा भन्दै यो तीव्र गतिमा फैलिइरहेको छ । भारत र चीनमा फैलिएको भाइरस जुनसुकै बेला नेपालमा फैलन सक्छ । अहिले चिकित्सकले भन्दै आएको मौसमी रुघा अर्थात् सिजनल फ्लु निको हुनसमेत २ हप्ता भन्दा बढी समय लाग्ने गरेकाले रोगको प्रकृति मिले पनि त्यो फ्लुमात्र नहुने आशंका भइरहेको छ ।
यो भाइरस पहिलो पटक सन् २००१ मा डच अनुसन्धानकर्ताहरूले श्वासप्रश्वासको संक्रमण भएका बच्चाहरूको नमूनाहरू अध्ययन गर्दा पत्ता लगाएका थिए। सो अध्ययनले देखाएको छ कि यो भाइरस कम्तीमा ६ दशकको लागि रहन्छ। यो एक साझा जीवाश्म रूपमा संसारभर फैलिसकेको छ।
यो भाइरस मुख्यतया खोक्दा र हाछ्युँ गर्दा फैलिन्छ। संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क र दूषित वातावरणको सम्पर्कबाट पनि संक्रमण हुन सक्छ।