वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ - मन्त्री पाण्डे [भिडियो]
जहाज खरिद गर्दादेखि विभिन्न विवादहरू र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटि र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेका छौँ
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
422
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भए पनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाए ।
उनले निगमले भएका वाइडबडी र न्यारोवडी समेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको सङ्केत गर्नुभयो । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई बिस्तार र हवाई टिकट सर्वसुलभ(सस्तो) बनाउनुपर्ने भूमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताए । उनले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताए । उनले सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको बताए । उनले निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवादहरू र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेको बताए ।
उनले भने,‘ नेपालको हवाई उडानलाई विस्तार र हवाई टिकट सर्वसुलभ(सस्तो) गर्ने हो भने राष्ट्रिय ध्वजावाहक बलियो र सुदृढ हुनुपर्छ । राष्ट्रिय ध्वजावाहक बलियो भने मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडालाई नियन्त्रण गर्ने अवस्था आउँछ । अन्तर्राष्ट्रिय उडानको हवाई भाडा पनि धेरै बढ्न नदिने र हवाई भाडा नियन्त्रण र सन्तुलनमा राख्ने अवस्था नेपाल एयरलाइन्सले गर्न सक्दो रहेछ । त्यसको लागि के गर्न सकिन्छ भनेर पटक–पटक नेपाल एयरलाइन्ससँग छलफल भएको छ । तर विभिन्न समस्याहरू देखिएका छन् । जसमा जहाज खरिद गर्दादेखि विभिन्न विवादहरू र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटि र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेका छौँ । पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई एक महिनाको समय दिएका छौँ । एक महिनाभित्र सुधारको कार्ययोजना प्रस्तुत गर्नुस् । सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधारको लागि के सोच्नुभएको छ भनेर सोधिरहेका छौँ । वाइडबडी सी चेकमा पठाउन नसकिएको कारणले नचल्ने न्यारोबडी पनि सी चेक नहुने अवस्था छ । यसले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुन थाल्यो । त्यसको लागि के गर्ने भन्ने सुझावहरू आइरहेका छन् ।’
उनले पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रस्तुत गर्न एक महिनाको समय दिएको बताए । उनले सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधार प्रस्तुत गर्न समेत भनिएको उल्लेख गरे ।