जीवनराम श्रेष्ठ तेस्रो पटक ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
8.9k
Shares
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० मतमध्ये श्रेष्ठले २० मत प्राप्त गरी निर्वाचित भएका हुन् । योसँगै श्रेष्ठ तेस्रो पटक एनओसीमा निर्वाचित भएका हुन् ।
तर मताधिकार प्रयोग गर्न सक्ने ७ सदस्य भने मतदान प्रकियामा सामेल भएनन् । अदालतको अन्तरिम आदेश तथा आन्तरिक कलहबीच श्रेष्ठ तेस्रो कार्याकालका निर्वाचित भएका हुन् ।
उता ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का प्रतिनिधि पनि अनलाइनबाट जोडिएको उपाध्यक्ष गोपालसुन्दर कक्षपतीले दाबी गरेका छन् । ओसीएले निर्वाचनलाइ वैधानिकता दिएको उनको दाबी छ ।
सर्वोच्च अदालतले निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेसँगै चुनाव अनलाइन माध्यमबाट गरिएको एनओसी नेतृत्वले जनाएको छ । अदालतले स्टे अर्डर जारी गरेका कारण प्रहरीले हस्तक्षेप गरेपछि सोमबार उम्मेदवारी दर्ता प्रकृया पनि अनलाइन माध्यमबाटै गरिएको थियो ।
यसअघि श्रेष्ठले दुई कार्यकाल महासचिव तथा दुई कार्यकाल अध्यक्षका रुपमा नेतृत्व गरिसकेका छन् । जसका कारण एनओसीको मूल नेतृत्वलाई चयन भएको यो लगातार तेस्रो पटक हो ।
श्रेष्ठका प्रतिस्पर्धी एवं निवर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले अध्यक्षमा भिडन्त गरेका भए पनि एक मत पनि प्राप्त गर्न सकेनन् । तेजबहादुरले जीवनरामलाई साथ दिएको बताइन्छ ।
यता निलेन्द्रराज भने चुनावी प्रक्रियामा सहभागी नै भएनन् ।
अन्य पदाधिकारी र कार्यसमितिका सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।