काठमाडौँ । नेपाली कांग्रेसको सय दिने अभियानको समय माघ १६ गतेसम्म लम्बिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम सांगठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ मा थालेको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पुस १६ गते समापन हुनैलाग्दा केही जिल्लामा ढिलाइ भएको भन्दै एक महिना समय थपिएको हो ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाई र अन्य विविध कारणले केही जिल्लामा ‘१०० दिने विशेष अभियान’ को तोकिएका कार्य सम्पादन हुन नसकेका भन्दै ती जिल्लाहरूले शहीद दिवसका दिन १६ माघ २०८१ समापन गर्ने गरी समयावधि थप गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबै साथीहरूलाई थप अवधिमा सांगठनिक रूपले गर्न–गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन निर्देशानुसार सुचित गरिन्छ ।’