arrow

महरको ठहर: पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउँछ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
nain-singh-mahar-81-9-11.jpg

इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियो हुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको माङ्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'अहिले बहुमत सरकार निर्माणका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नु पर्ने बहस भइरहेकोछ । तर पार्टीहरु भित्रको अन्तर विरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेकाकारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस् ५ वर्षे कार्यकालसमेत सत्ता संचालन गर्न सकेनन् । यसर्थ लोकतान्त्रिक पद्दति बलियो बनाउन दलहरुभित्रको बहु विचारको सम्मान आवश्यक छ ।'

'लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संसोधनको बहस चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र जनता निराश भए। यो बहस चलिरहेको बेला कारबाहीको डण्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिर्याउने कदमले संविधान संशोधनले स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुन्छ', उनले भने ।

सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले तर्फ संकेत गर्दै 'संविधान संशोधन गरेर निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउने बाटो तय गर्ने भनिरहेका छौँ । तर दलहरूभित्र फरक आवाजलाई डण्डा बजाउँदा विद्रोह हुन्छ। विद्रोह हुँदा सरकार ढलेर अस्थिरता निम्तिएका थुप्रै उदारण छन्', उनले भने, 'मातृकाप्रसाद कोइरालादेखि अहिलेसम्मका अपवाद बाहेक सबै सरकार दलभित्रका विद्रोह, समस्या र असन्तुष्टिले ढलेका छन् ।'

पार्टीभित्रको फरक मतलाई सम्मान गर्न सकेमात्र प्रजातन्त्र बलियो हुन्छ। 'पार्टीभित्रका फरक मत नसहने सरकारले जनताका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ', उनले भने।

पार्टीभित्रको आजको फरक र अल्पमत पनि कुनै दिन बहुमतको अवस्थामा पुग्न सक्ने कयौं उदाहरलाई भुल्न नहुने महरको सुझाव छ। 'हिजो कांग्रेसभित्र नै एउटा पक्षलाई बाहिर्‍याउने प्रयास भएको थियो। फरक मतलाई सम्मान गर्न नसक्दा पार्टी फुटको अवस्थामा पुग्यो। पुन: पार्टी एकीकरणपछि त्यही व्यक्ति पार्टीको मूलधार बन्न सफल हुनुभयो। त्यसैले लोकतन्त्रमा पार्टीभित्र कसैको आवाजलाई पनि दबाउनु हुँदैन', उनको सुझाव छ।

माओवादीभित्र पनि फरक मतलाई सम्मान दिन नसक्दा पटक-पटक पार्टी फुटेको उदाहरण दिँदै उनले नेपालका कम्युनिष्टहरूले आफ्नो उक्त व्यवहारलाई सुधार्न आवश्यक रहेको औंल्याएका छन्। कांग्रेसमा फरक मतलाई थोरै स्थान दिइने भए पनि फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्‍याउने प्रयास हुने गरेको र त्यसलाई कांग्रेसले पनि सुधार्नुपर्ने महरको भनाइ छ।

'२०४६ सालपछि प्राय: सबै दलहरु भित्र फरक मत राखेका नेतालाई पार्टीको मूलधारमा आउने बाटो छेक्ने काम भएका कयौं उदाहरण छन।लोकतान्त्रिक पद्धति र लोकतन्त्रका लागि चुनौति हो,' उनले भने। राजनीतिक दलले आफ्नो पार्टी ,नेता र कार्यकर्ताको बानी र ब्यबहारमा शंशोधन नरिकनै हामीले भनिरहेको संविधान संशोधनको मर्मलाई यस्तो व्यवहारले सम्बोधन गर्न नसक्ने उनको टिप्पणी छ।

संविधान संशोधनको समयमा पार्टीभित्र दशौँ धारणा आउन सक्ने र बहुमत, अल्पमतले निर्णय गर्नुपर्ने अवस्था आएमा फरक मत राख्नेहरूलाई पार्टीबाट बहिस्कृत गराउने हिजो कांग्रेस, एमाले, नेकपा माओवादी, मधेसकेन्द्रित लगायतका दलहरुमा विगतमा देखिएको टुटफुटको जस्तै अवस्था सिर्जना भएमा संविधान संधोधनमै धक्का पुग्ने महरको चिन्ता छ। उनले यस्तो अवस्थामा संविधान र लोकतन्त्र दुवै कमजोर हुने बताएका छन् ।

त्यसैले पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन फरक मतको सम्मान हुनुपर्ने र त्यसले समग्र लोकतान्त्रिक प्रणालीमा टेवा पुर्‍याउने उनको धारणा छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ