arrow

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा मात्र शनिबार चुनाव, बाँकी सबै निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
NOC.png

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको निर्वाचन शनिबार हुने भएको छ । शनिबार अध्यक्षका लागिमात्र निर्वाचन हुनेछ । अन्य पदमा भने स्वतः निर्विरोध भएका छन् ।

अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङ प्रतिस्पर्धामा छन् । 

आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दार्ता गर्न सोमबार अन्तिम मिति रहेको थियो । यसअघि विधानमा दुई कार्यकालमात्र अध्यक्ष हुने भए पनि विधान संशोधन गरेरै जीवनरामले तेहेरिने लक्ष्य लिएका हुन् । 

उनको यस कदमको चर्को विरोध भए पनि विधान संशोधन बहुमतले पारित भएको थियो । विधान संशोधन नगर्न अदालतले आदेश दिएको भए पनि अहिलेको कार्यसमितिले मानेन । 

साथै राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन नगर्न निर्देशन दिएको भए पनि त्यसको समेत पालना भएको छैन । एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीको आदेश पालना गर्दै आएको छ । 

आईओसीले अगाडि बढ भनेपछि आफूहरु अगाडि बढेको उपाध्यक्ष चतुरानन्द वैद्यले बताए । उनले यो चुनाव रोक्नका लागि धेरै प्रयास गरिए पनि आईओसीले अगाडि बढ भनेपछि आफूहरु अगाडि बढेकाले अवैधानिक भन्ने कुनै प्रश्न नरहेको बताए । 

उनले आईओसीको चार पटकसम्म दोहोरिन पाउने विधान रहेकाले अध्यक्षमा चार पटकसम्म हुने गरी विधान संशोधन गरिएको बताए । त्यस्तै पाँच उपाध्यक्ष भएकामा संशोधन गरी सात पुर्याइएको छ ।

वैद्यले अब शनिबार १३ गते अध्यक्षका लागिमात्र चुनाव हुने पनि बताए । अन्य पदहरु निर्विरोध भएका छन् । 

सात उपाध्यक्षका लागि टेबलटेनिसका चुतरानन्द वैद्यसहित नौ जनाको उम्मेदवारी परेकामा कबड्डीकी तुलशा थापा र जुडोका दीपकहर्ष बज्राचार्यले मंगलबार उम्मेदवारी फिर्ता लिएपछि बाँकी निर्विरोध भएका छन् ।

उपाध्यक्षमा वैद्य, टेनिस संघकी अध्यक्ष ज्योती राणा, पौडीका अशोकरत्न बज्राचार्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, सुटिङका पुष्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कक्षपतीले निर्विरोध भएका हुन् । 

महासचिवमा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निवार्चित भएका छन् । त्यस्तै  सहमहासचिवमा  ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घलेको मात्र उम्मेदवारी परेसँगै स्वतः निर्वाचित भएका छन् । 

तीन सचिव पदका लागि आर्चरीका रमेश शिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ (बोस) पनि निर्विरोध चुनिएका छन् । 

यता सदस्यमा जिम्न्यास्टिककी गीता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले पनि निर्विरोध चयन भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ