बीआरआईमा कांग्रेसको अडान कायमै, अनुदान मात्रै स्वीकार्य
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
2.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले चीनको विकास परियोजना बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको अनुदानमात्र स्वीकार गर्ने पूर्ववतः अडानमा फेरबदल नभएको प्रस्ट पारेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले सो अडान कायमै राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘कांग्रेसलाई चीनको ऋण स्वीकार्य छैन ।’
आजको बैठकले चीनसँग भएको सहमति अनुसार परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने पुनः प्रस्ट पारेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको ‘एड फाइनान्सिङ’ ऋणमात्र नभएर अनुदानसमेत हुने भन्दै अनुदान मात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर गरेको हो ।
‘बीआरआई सहमतिमा ‘ग्रान्ट फाइनान्सिङ’ को ठाउँमा ‘एड फाइनान्सिङ’ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा. महतले भने, ‘ त्यसभित्र पनि अनुदान हुन्छ ।’
उनले बीआरआई सहमति भए पनि पछि छुट्टाछुट्टै परियोजनामा पुनः सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताए ।
बैठकपछि प्रवक्ता महतले थप भने, ‘अहिले पनि हाम्रो भनाइ अनुदानमात्र लिने भन्ने हो । त्यो चीन सरकारको सवालमा मात्र होइन । आउने दिनमा पनि कुनै पिन सरकारबाट प्राप्त हुने ऋणका अनेकौ सर्तहरु हुने भएकाले त्यस्ता शर्तसहति ऋण लिदा देशलाई फाइदा हुदैन भन्ने हाम्रो ठहर हो ।’
कांग्रेसले शुरुआतदेखि नै बीआरआई अनुदानमा मात्र लिन सकिने अडान राख्दै आएको छ ।