माओवादी अहिले पनि क्रान्तिमै : प्रधानमन्त्री प्रचण्ड
बुर्जुवाहरु कम्युनिष्टका नारा अपहरण गरेर भड्कावमा लैजाने षड्यन्त्र गर्दै छन्
प्रकाशित २०७३ पुष ११ सोमबार
1.1k
Shares
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि निरन्तर क्रान्ति र संघर्ष नै माओवादको मुख्य सन्देश भएको बताएका छन् ।
१२३औं माओ जयन्तीका अवसरमा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘आजको युग पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । सर्वहारा वर्गको अन्तिम विजय नभएसम्म निरन्तर क्रान्ति र निरन्तर संघर्षको औचित्य जीवित रहन्छ । आजको सन्दर्भमा माओवादको सन्देश भनेको निरन्तर क्रान्ति र निरन्तर संघर्ष हो ।’
संघीयतालाई साम्प्रादायिकतामा बदल्ने कोसिस भइरहेको शंका गर्दै प्रधानमन्त्री दाहालले भने, ‘एकथरी मान्छेहरु संघीयता उल्टाउन उद्दत छन् । कम्युनिष्टहरुले जनतामा लोकप्रियता हासिल गरेपछि बुर्जुवाहरु कम्युनिष्टका नारा अपहरण गरेर त्यसलाई भड्कावमा लैजाने षड्यन्त्र गर्दै छन् । कम्युनिष्टहरुको नेतृत्वमा जातीय समस्याको उचित सम्बोधन हुन्छ, त्यसले राष्ट्रिय एकता मजभूत हुन्छ ।
दाहालले अगाडि भने, ‘त्यही एजेण्डा बुर्जुवाहरुको हातमा पुग्यो भने त्यसले साम्प्रादायिकता निम्त्याउँछ र बिखण्डनको बिउ रोप्दछ । अहिले हामीकहाँ पनि जातीय समस्यालाई राष्ट्रिय एकतामा बदल्न छोडेर कुनै अमूक जाति वा समुदाय च्यापेर अरुलाई धकेल्ने प्रयास भइरहेको छ । यो बुर्जुवा सोंचकै परिणाम हो ।’
माक्र्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शकका आधारमा जनयुद्ध लडेको घुर्की लगाउँदै, दाहालले भने, ‘जनयुद्धकै बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समावेशिताजस्ता महत्वपूर्ण उपलब्धि हासिल भए । अबको सन्दर्भमा माओवादको पक्षमा उभिनु भनेको संविधानमा संस्थागत भएका उपलब्धिहरुको कार्यान्वयन गर्नु हो ।’ कार्यक्रममा माओवादी केन्द्रका नेता हितमान शाक्यले २१ औं शताब्दीमा माओवादीको औचित्य अझै बढ्दै गएको बताए ।