जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानता थप फराकिलो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
500
Shares
काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गरिन् ।
उनले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन्। उनले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताइन् । उनले अनुकूलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गरिन् ।
उनले भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनुकलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्त्वहरूको पहिचान गर्दै सोही अनुरुप अनुकूलनमा दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गर्न सहयोग पुग्ने दाबी गरिन् ।
उनले भनिन्,‘जलवायु परिवर्तनले हाम्रो समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई समेत थप फराकिलो बनाएको छ । जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ । जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्नुका लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता पर्छ । यस्ता अनुसन्धानबाट जलवायु अनुकलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्त्वहरूको पहिचान गर्दै सोही अनुरुप अनुकूलनमा दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गर्न सहयोग पुग्छ । जनसङ्ख्याको ठूलो हिस्साले कृषिलाई जीविकोपार्जनको आधार मान्दै आएका नेपाल,भारत,बङ्गलादेश जस्ता दक्षिण एसिया चीनमा समेत गरेको अध्ययनले यस क्षेत्रका किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौती सामना गर्न सहज हुने अपेक्षा छ ।’