सीडीओ र डीएसपीकै अगाडि कांग्रेस केन्द्रीय सदस्य नेपालीमाथि माओवादीको आक्रमण प्रयास
'प्रहरी प्रशासनकै अगाडि यस्तो रवैया देखाउने माओवादी नेताका कार्यकर्ताहरुले गाउँमा अरु पार्टीका कार्यकर्तालाई कस्तो व्यवहार गर्छन् भनेर बुझ्न गाह्रो छैन'
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
2.5k
Shares
रुकुम पश्चिम । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आक्रमण प्रयास भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा र कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहेका राजकुमार शर्माले कांग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपालीमाथि आक्रमण प्रयास गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले उपनिर्वाचनको सन्दर्भमा छलफल गर्न बोलाएको बैठकमा माओवादी नेताले कांग्रेस नेतामाथि आक्रमण प्रयास गरेको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।
जिल्लाको सानीभेरी गाउँपालिका ५ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन भएको छ । मौन अवधिको बेला शनिबार राति मतदातालाई पैसा बाँड्दै गरेको बेला माओवादीका १५ कार्यकर्ता पक्राउ परेको लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा नेताहरुले अभद्र शैली देखाएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य नेपालीले आफूले निर्वाचनमा क्रममा कार्यकर्ताहरुबाट भएका गल्तीहरु स्वीकार गर्न सक्नुपर्ने र माओवादीले आफ्नो झूट लुकाउन अनेक हर्कत गर्ने गरेको बताएपछि आफूमाथि आक्रमण प्रयास गरेको बताएका छन् ।
नेपालीले भने, ‘म बोल्दै थिएँ, प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका माओवादी नेता राजकुमार शर्माले टेबल बजारे, केन्द्रीय सदस्य गोपाल शर्मा म बसेको ठाउँसम्म पाखुरा सर्केर आए । सीडीओ र डीएसपी साप बिचमा आएर ममाथि आक्रमण हुनबाट जोगाउनु भयो ।’
प्रहरी प्रशासनकै अगाडि यस्तो रवैया देखाउने माओवादी नेताका कार्यकर्ताहरुले गाउँमा अरु पार्टीका कार्यकर्तालाई कस्तो व्यवहार गर्छन् भनेर बुझ्न गाह्रो नभएको नेपालीको भनाइ छ ।
घटनालाई नजिकैबाट नियालिरहेका एमाले अध्यक्ष नन्दराम देवकोटाले नेताहरुले लाजमर्दो हर्कत देखाएको बताए । हामीले जित्नैपर्छ, अरुले जित्न पाउँदैन भन्ने मानसिकताबाट ग्रसित भएपछि चुनावमा उपद्रो व्यवहार देखाउने गलत चलन रोक्न सबैजना संयम हुनुपर्ने उनको भनाइ छ ।
सीडीओकै सामु लाजमर्दो पारा देखाएर राजनीतिज्ञले इमानदारीता र शिष्टता नाघेको उनको बुझाइ छ ।
कानून विपरीत भएका निर्वाचनका गतिविधिहरु चुनावपछि कानून बमोजिम अगाडि बढाउने सहमतिपछि सर्वदलीय बैठक समापन भएको थियो ।
सानीभेरी गाउँपालिका ५ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा ८० प्रतिशत मत खसेको छ । १४३४ मतदाता रहेकामा ११४६ मत खसेको थियो । जसमा महिला ६०६ र पुरुष ५४० जनाले मतदान गरे ।