तस्करको स्कोरपियोले किचेर सशस्त्र प्रहरीका सईको मृत्यु [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
853
Shares
सिराहा । सिराहामा तस्करको स्कोरपियोले किचेर एक सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ। भारतीय सीमा नजिकै बडीयारपट्टी १ कचनारी भित्री सडक खण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षीय लक्ष्मणप्रसाद यादवलाई आइतबार बिहान तस्करको स्कोरपियोले किचर मृत्यु भएको हो ।
नेपालबाट भारततर्फ गइरहेको तस्करको स्कोरपियो रोक्न खोज्दा यादवलाई ठक्कर दिएर भाग्न लागेका थिए। ठक्करबाट यादवको मृत्यु नभएपछि उनलाई स्कोरपिओ ब्याक गरेर पुनः किचेको प्रहरीको भनाइ छ।
सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्कोरपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए । उनले अहिलेसम्म ती स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाए ।
बीओपी वडहरीमा कार्यरत सशस्त्रका सय यादवको नेतृत्वमा ५ जना र प्रहरी चौकी कचनारीबाट खटिएको असई बीरेन्द्रकुमार शाह नेतृत्वको ५ जनाको संयुक्त मोटर साइकल गस्ती टोलीको बीचमा घटना हुँदा पनि स्कोरपियो भाग्न सफल हुनुले घटनालाई थप सशंकित बनेको एक प्रहरी अधिकृत बताउँछन्।
उनले भने, ‘यो सामान्य घटना होइन। १० जना हतियार सहितको टोलीमा एक जना प्रहरीको मृत्यु भएको छ । यसले प्रहरी आफैँ शंकाको घेरामा परेको छ।’
ती प्रहरी अधिकृतले भने, ‘जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरुकै मिलेमत्तोमा यस क्षेत्रबाट निर्वाध रुपमा मदिरा भारततर्फ तस्करी भइरहेको थियो। त्यो पछिल्ला दिनहरुमा पक्राउ परेका घटनाले पनि देखायो। यो घटनाले भने मदिरामात्र नभई अन्य सामाग्रि पनि तस्करी भएको हुन सक्ने देखाउँछ।’
उनले थपे, ‘घटना दशगजादेखि ४ सय मिटरको दूरीमा नेपालतर्फ भएको हो। मदिरा तस्करले नेपालमा यति ठूलो उपद्रो गर्दैन। भारतमा मात्र उनीहरुलाई डर हो। यो गाडीमा सुपाडी, सुकमेल, प्रतिवन्धित लागूऔषध गाँजा वा त्यस्तै कुनै बहुमुल्य सामाग्री हुनु पर्छ।’
यता परिवारजनले घटनाको उचित छानविन गर्नु पर्ने माँग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहानमा चक्का जाम सहित प्रदर्शन गरिरहेको छ। उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई निलम्वनगरी घटनाको छानबिन गर्नुपर्ने माग गर्दै आएको छ।
यादवको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ।