arrow

युद्धविराम सम्झौतालाई हिजबुल्लाहले दियो विजयको संज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
israel-palestine-lebanon-co.jpg

काठमाडौँ । हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरेलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिएका छन् । 

लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका प्रमुख कासिमले इजरेलसँगको युद्धविरामबारे पहिलो सार्वजनिक वक्तव्य दिँदै यो सम्झौतालाई हिजबुल्लाहका लागि ‘ठूलो विजय’ को संज्ञा दिँदै लेबनानी जनताको धैर्यताको प्रशंसा गरेका छन् । 

मङ्गलबार इजरेल र हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएको थियो, जुन बुधबारबाट लागू भएको हो । यद्यपि, दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको आरोप लागेको छ ।

यो सम्झौता संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको थियो । सम्झौताको शर्तमा ६० दिनभित्र हिजबुल्लाहले ‘ब्लु लाइन’बाट आफ्ना लडाकु र हतियार फिर्ता लिने र इजरेली सेनाले चरणबद्ध रुपमा दक्षिणी लेबनानबाट फिर्ता हुने उल्लेख छ ।

हिजबुल्लाहका प्रमुख नईम कासिमले शुक्रबार राति जारी उक्त सन्देशमा युद्धविरामलाई समूहका लागि ‘ठूलो विजय’ अर्थात् २००६ को जुलाईको विजयभन्दा पनि महत्त्वपूण बताएका हुन् । 

हिजबुल्लाहसँग इजरेलको अन्तिम युद्ध सन् २००६ मा भएको थियो ।

उनले भने, “हामीले जितेका छौं किनभने हामीले शत्रुलाई हिजबुल्लाहलाई नष्ट गर्नबाट रोकेका थियौं । किनभने हामीले प्रतिरोधलाई टुट्न हुन वा पराजित हुनबाट रोक्न सफल भएका छौँ, त्यसैले हामीले युद्ध जितेका छौँ ।” उनले हिजबुल्लाको प्यालेस्टाइनप्रतिको आफ्नो समर्थन नरोकिने बताउँदै भने, “हामीले बारम्बार भन्दै आएका छौं कि हामी युद्ध चाहँदैनौं, तर हामी गाजालाई सहयोग गर्छौँ र यदि इजरेलले युद्ध थोपर्यो भने हामी त्यसका लागि तयार छौँ ।”

सम्झौताको घोषणाको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामको उद्देश्य इजरेल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्नु रहेको बताएका थिए । 

यस युद्धमा लेबनानका हजारौं मानिस मारिएका छन् भने दुवै देशमा हजारौं विस्थापित भएका छन् ।

यसैबीच, इजरेली सेनाले दक्षिणी लेबनानका ६० गाउँका बासिन्दालाई नफर्कन चेतावनी दिएको छ । इजरेली सेनाले लेबनानको दक्षिणी भागमा केही माइल भित्रका क्षेत्रहरु देखाउँदै नक्सा जारी गरी उक्त क्षेत्रमा तत्काल नफर्कन सर्वसाधारण लेवनानीहरूलाई आग्रह गरेको छ । 

इजरेली सेनाले चेतावनी दिँदै भनेको छ, “ फर्कने जो कोहीले पनि आफैलाई जोखिममा पार्नसक्ने चेतावनी दिँदै यहाँका बासिन्दा तत्काल वस्तीमा नफर्कून्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ