इजरायल र लेबनानी नेताहरूलाई ह्वाइट हाउसमा निम्तो, दश दिने युद्धविराम लागू
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
1.5k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविरामको घोषणा गर्दै आगामी दुई हप्ताभित्र दुवै देशका शीर्ष नेताहरूलाई ह्वाइट हाउसमा आमन्त्रण गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनसँग आगामी एक वा दुई हप्ताभित्र भेटवार्ता गर्ने बताएका हुन्।
४४ वर्षमा पहिलो पटक हुन लागेको यस्तो उच्चस्तरीय भेटलाई ट्रम्पले अत्यन्तै उत्साहजनक र ऐतिहासिक कदमको रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जालमार्फत बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी युद्धविरामको सहमति भएको जानकारी दिएको केही घण्टापछि यो घोषणा आएको हो भने यस सम्झौताले हिजबुल्लाहसँग सम्बन्धित समस्या समाधान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको ६ बुँदे विज्ञप्तिअनुसार युद्धविरामको अवधिमा इजरायलले आफ्नो आत्मरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित राखेको छ तर उसले लेबनानी भूभागमा हवाई, स्थल वा समुद्री मार्गबाट कुनै पनि आक्रामक सैन्य कारबाही नगर्ने प्रतिबद्धता जनाएको छ।
यस्तै लेबनान सरकारले यस अवधिमा हिजबुल्लाह र अन्य गैर-राज्य सशस्त्र समूहहरूलाई शत्रुतापूर्ण गतिविधि गर्नबाट रोक्न ठोस कदम चाल्ने सहमति भएको छ। यदि वार्तामा सकारात्मक प्रगति देखिएमा र लेबनानले आफ्नो सार्वभौमसत्ता प्रभावकारी रूपमा प्रदर्शन गरेमा यो युद्धविराम आपसी सहमतिमा थप विस्तार गर्न सकिने प्रावधान राखिएको छ।
यसैबीच इजरायली प्रधानमन्त्री नेतान्याहुले युद्धविरामको समयमा इजरायली सेना लेबनानमा हालकै स्थानहरूमा रहने र त्यहाँबाट पछि नहट्ने स्पष्ट पारेका छन् भने दुवै देशका सरकारहरू युद्धविरामका सर्तहरूमा पूर्ण रूपमा सहमत भइसकेको विदेश मन्त्रालयले बताएको छ।