बारा । नयाँ सदस्यताको विवादलाई लिएर नेपाल प्रेस युनियन बाराले कलैयामा रहेको पत्रकार महासंघको कार्यालयमा बुधवार तालाबन्दी गरेको छ । नेपाल प्रेस युनियन बाराका कार्यवाहक अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले पाँच सूत्रीय माग राख्दै तालाबन्दी गरेका हुन ।
पत्रकार महासंघ बाराको जिल्ला कार्य समितिको निर्णय विपरित महासंघका अध्यक्ष कमल उपाध्यायले गैर पत्रकारहरुलाई नयाँ सदस्यता दिने सिफारिस गरेकोले त्यसको छानविन गर्नको लागि महासंघको कार्यालयमा तालाबन्दी गरिएको नेपाल प्रेस युनियन बाराका सचिव सागर विश्वकर्माले बताएका छन ।
पत्रकार महासंघ बाराका अध्यक्ष कमल उपाध्यायले महासंघको विधान र निर्देशिका विपरित केन्द्रिय कार्यालयमा पठाएको नयाँ सदस्यता जिल्ला शाखामा फिर्ता हुनु पर्ने, कार्य समिति बाराको बैठकले संगठन विभाग प्रमुख सचिव जयनारायण यादवको संयोजकत्वमा गठित तीन सदस्यीय समितिको निर्णय अनुसार नयाँ सदस्यता हुनु पर्ने लगायतका माँगहरु राखी नेपाल प्रेस युनियन बारा बाध्य भएर आन्दोलित हुनु परेको विश्वकर्माले बताए ।
अध्यक्ष उपाध्यायले एकलौटी रुपले नयाँ सदस्यता सिफारिस गरेको केन्द्रमा प्रेस युनियनले पटक पटक जानकारी गराउँदा समेत केन्द्रबाट अध्यक्ष उपाध्यायलाई नै संरक्षण गर्ने कार्य भएकोले प्रेस युनियन आन्दोलिन हुनु परेको कुरा विश्वकर्माले बताए ।
अध्यक्षले विरगंज स्थित आफनो घरमा राखेका नयाँ सदस्यताका आवेदनहरु संगठन विभाग प्रमुखको अध्यक्षतामा गठित समितिलाई जिम्मा दिनु पर्ने । संगठन प्रमुख तथा कार्यवाहक अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा भएको बैठकले महासंघको केन्द्रिय कार्यालयमा पठाएको नयाँ सदस्यताहरु हुनु पर्ने ।
अध्यक्ष उपाध्यायले जिन्सी लगायतका सम्पुर्ण सामानहरु फिर्ता गरी महासंघको कलैया स्थित कार्यालयमा राख्नु पर्ने लगायतका माँगहरु युनियनले राखेको बाराका कार्यवाहक अध्यक्ष उपेन्द्र यादवले निकालेको प्रेस विज्ञप्तीमा लेखिएको छ ।