बोर्ड सदस्यमा नियुक्त हुने ३ –रुकुम, बाजुरा र सुर्खेतका
प्रकाशित २०७३ पुष ४ सोमबार
2.3k
Shares
काठमाडौं । उर्जा मन्त्रालयले प्राधिकरण हित विपरीत काम गरेको आरोपमा संचालक समितिका तीन सदस्यलाई बर्खास्त गरेलगत्तै तीन जना नियुक्त समेत गरेको छ । बर्खास्त भएकाहरुको ठाउँमा नयाँ नियुक्ति भइसकेको ऊर्जामन्त्री जनार्दन शर्माले हाम्राकुरालाई बताए ।
रुकुम पूर्तिमकाँडा–६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी–३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर–६ का उमेशप्रसाद थानी सञ्चालक समिति सदस्यमा नियुक्त भएका ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तले जानकारी दिए ।
मन्त्रालयले गत मंसिर ३० गते गरेको निर्णय अनुसार सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरिएको सहप्रवक्ता पन्तले बताए । उनले भने, ‘मन्त्रालयबाट आईतबार उहाँहरुलाई पत्र पठाइएको छ ।’
लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा ऊर्जाले स्पष्टिकरण सोधेकामा चित्त बुझ्दो जवाफ नदिएको आरोप छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेको मन्त्रालयको जिकिर छ ।
स्पष्टिकरणको लागि भनेर पत्र पठाउँदा नबुझेको भन्दै मन्त्रालयले पत्रिकामै सार्वजनिक सूचना प्रकाशित गरेर स्पष्टिकरणको लागि बोलाएको थियो । बर्खास्तीमा परेकाहरुले आफुहरुलाई षड्यन्त्रपूर्वक निकालिएको बताएका छन् ।