सातदोबाटो । नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा मलेसियाको महिला टोलीलाई हराएको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले विजयी भएको हो । सावित्रा भण्डारीले खेलको २७औं मिनेटमा गरेको गोल नै नेपाललाई जिताउन निर्णायक बन्यो ।
नेपाली टोली यसपटक नयाँ अनुहारले भरिएको छ । विश्व फुटबल बरियतामा ११२औं स्थानमा रहेको नेपालले ८६औं स्थानमा रहेको मलेसियालाई हराएसँगै पिफा वरियतामा केही सुधार हुने नेपाली फुटबल जानकारहरुको अड्कल छ ।
भारतको सिलगुढीमा पुस ११ देखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले खेल सुधार गरेको नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बताए । साफ च्याम्पियनसिपमा तीन पटक फाइनल खेलेको नेपालले उपाधि जित्न भने सकेको छैन ।
गएको वर्ष भारतको गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा पनि नेपाल उपविजेता बनेको थियो ।