शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्याय पूरा - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
598
Shares
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै अध्यक्ष दाहालले यस्तो भनेका हुन् ।
उनले विधेयकलाई सदनले अनुमोदन गरेको भन्दै यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाउनेमा विश्वास व्यक्त गरे । उनले विधेयक पारित भएपछि परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान् यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो प्राप्त गर्ने बताए । उनले शान्ति प्रक्रियाको आरम्भकर्ता माओवादी भएको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना भएको बताए । अध्यक्ष दाहालले आफूले सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत पार्टी नै विभाजन भएको भएपछि देशमा शान्ति स्थापन भएको बताए ।
उनले भने – ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक आज सदनले अनुमोदन गरेको छ । यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाउनेछ भन्ने विश्वास व्यक्त गर्न सकिन्छ र हजारौँ सहिदहरूको सपना पूरा हुने विश्वास पनि पैदा भएको छ । शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको छ । र अब हामीलाई परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान् यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो हामीले प्राप्त गरेका छौँ । २०६१ माघमा सेनाको सहयोगमा ज्ञानेन्द्रले मूलदारका दलहरूलाई समेत प्रतिबन्ध लगाएपछि मात्र ७ दलीय गठबन्धन माओवादी पार्टीसँग सहकार्य गर्न तयार हुने वातावरण बनेको ऐतिहासिक तथ्य हामी सबैलाई थाहा छ । यसर्थमा माओवादी पार्टी नै नेपालको शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता हो भन्न दुबिधा मान्नुपर्ने कहीँ ठाउँ छ भन्ने मलाई लाग्दैन । विश्वका कतिपय युद्धहरू कि त हारमा कति सम्पूर्ण रूपमा जितमा । विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ । सेना समायोजन र हतियार व्यवस्थापनको कुरा जोखिमपूर्ण थियो । मैले सेना समायोजन गरे विपत्, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापत् मेरो पार्टी विभाजित भयो । त्यसले निकै ठुलो जटिलता पार्टीले बेहोर्नुपर्यो । देश बच्यो । शान्ति स्थापित भयो । मलाई गर्व छ । शान्ति सम्झौताको जगमा आज नेपाल लैङ्गिक तथा सामाजिक समावेशीकरणको संवैधानिक व्यवस्थाका हिसाबले विश्वको सबभन्दा प्रगतिशील व्यवस्थाको रूपमा स्थापित भएको छ ।’
अध्यक्ष दाहालले माओवादी जनयुद्धलाई कतिपय नेताहरूले हिंसात्मक द्वन्द्व भन्ने गरेको भन्दै आपत्ति जनाए । उनले जनयुद्ध शब्दलाई संविधान सभाले समेत स्वीकार गरेको भन्दै यसबाट पछाडि नफर्किन आग्रह गरे । उनले संविधान संशोधनको नाममा सीमित वर्ग, सीमित क्षेत्र, भूगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न लागिएको आशंका भएको बताए । उनले सुशासनको गति रोकिनेमा प्रश्न उब्जिएको बताए । त्यस्तै बहुदलीय प्रतिस्पर्धाको ठाउँमा दुई दलीय बनाउने कोसिस हुनेमा पनि प्रश्न उब्जिएको उनको भनाई छ ।
उनले भने – ‘अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जालाजस्तो गर्नुहुन्छ । जबकि संविधान सभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ । यदि जनयुद्ध विशुद्ध ध्वंसात्मक मात्रै हुन्थ्यो । गैर वैचारिक र गैर राजनीतिक हुन्थ्यो भने संसारमै मोडेल शान्ति प्रक्रिया भनेर आज हामीले जे भनिराखेका छौँ, गर्व गरिराखेका छौँ । त्यो सम्भव हुने थिएन । त्यसैले अहिलेको आवश्यकता हामी पछाडि फर्किने होइन । संविधान संशोधनको नाममा या राजनीतिक स्थिरताका नाममा फेरि केही सीमित वर्ग, केही सीमित क्षेत्र, भूगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्ने होइन । अहिलेको आवश्यकता यी उपलब्धिहरूलाई रक्षा गर्दै नेपाली समाजका सबै विभेद अन्त्य गर्दै अघि बढ्ने हो । तर कताकता पछिल्ला कतिपय राजनीतिक घटनाक्रमले यसमा शङ्का उत्पन्न हुने स्थिति बनेको छ । सुशासनको गति रोकिने त होइन भन्ने प्रश्न खडा भएको छ । बहुदलीय प्रतिस्पर्धाको ठाउँमा कहीँ दुई दलीय बनाउने कोसिस हुने त होइन भन्ने प्रश्न खडा भएको छ ।’
अध्यक्ष दाहालले शान्ति प्रक्रियाको सुरुवातमा आफ्नो साझेदारको रूपमा रहेको भन्दै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन सात दलको समेत स्मरण गरे । उनले अझै पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै कार्यान्वयन गर्न पनि सबै दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।