बङ्गलादेशको विकसित घटनाक्रमलाई नियालिरहेको कांग्रेसको भनाइ, युनुसलाई बधाई
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले बङ्गलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
कांग्रेसले उक्त अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बङ्गलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको जनाएको छ ।
यसैगरी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक विशेष गरी हिन्दू, बुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने कांग्रेसले विश्वास लिएको छ ।
कांग्रेसको आज भएको केन्द्रीय कार्यसमितिको बैठकले घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बङ्गलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बङ्गलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको उल्लेख गरेको छ ।
त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बङ्गलादेशी नागरिकको चाहना र भावनाअनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्व वहाल भई राजनीतिक संक्रमण अन्त्य हुने कांग्रेसको विश्वास रहेको पार्टीको निर्णयमा उल्लेख छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा भएको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
त्यसैगरी बैठकमा आमन्त्रित युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफ्नो मन्त्रालयबारे जानकारी गराएका थिए । केन्द्रीय कार्यसमितिको बैठक साउन २७ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।