काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधानको प्रस्तावलाई परिमार्जन गरेर अगाडि बढ्न सकिने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली एक्स्पो’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रस्ताव कुनै पनि हालतमा फिर्ता नलिने बरु त्यसलाई केही परिमार्जन गरेर अगाडि बढ्न सकिने बताएका छन् ।
दर्ता भएको प्रस्ताव नयाँ नभएको बताउँदै उनले भने, “पहिले प्रस्ताव गरिएको विषयलाई नै अगाडि बढाइएको हो, नयाँ होइन ।” प्रधानमन्त्री दाहालले संविधानको सर्वस्वीकार्यतालाई बढाउनका लागि संशोधन आवश्यक भएको स्पष्ट पारे ।
सुर्खेतमा कृषि, पर्यटन, उद्योग, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र, स्वास्थ्यजस्ता क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेको बताउँदै उनले बुलबुले ताल, देउती बजै, जाजुरा दह, चमेरे गुफा, गुप्ती नहर र सीतापाइलाको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने बताए ।
सुर्खेतमा रु छ अर्ब लगानीका पाँच परियोजना सञ्चालनबाट यस वर्षको अन्त्यसम्ममा तीन हजारले प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी पाउने र एक लाख पर्यटक भित्रिने लक्ष्य राखिएबाट यस क्षेत्रको समृद्धिलाई माथि उठाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले कर्णाली क्षेत्रको विकासका लागि प्रस्तुत माग तथा अपेक्षामा सरकारका तर्फबाट सहमति जनाउँदै सम्भाव्यताका आधारमा आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा ल्याइने व्यवस्थाका लागि पहल गरिने वाचा गरे ।
डोल्पा सदरमुकाम एक वर्षभित्र र हुम्ला सदरमुकाम दुई वर्षभित्र सडक सञ्जालमा जोडिने कार्यक्रम रहेको बताउँदै उनले कर्णालीलगायत विभिन्न भौगोलिक क्षेत्रमा जैविक विविधताको संरक्षण, राराताल क्षेत्रमा पर्यापर्यटन विकास तथा जडीबुटी प्रशोधन र व्यावसायिक उत्पादन वृद्धिका लागि ज्ञान, सीप, प्रविधि र अनुदान उपलब्ध गराइनेछ भने । रासस