arrow

छानविन समितिले भन्यो–माधव घिमिरे चढेको गाडी ट्रकलाई उछिन्न खोज्दा त्रिशुलीमा खस्यो

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
Madhav-Ghimire-ex-Home-Minister-e1464510471719.jpeg

काठमाडौँ  । पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी दुर्घटनाबारे छानविन गर्न गठिन समितिले आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा जीप दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

घिमिरेको परिवारका सदस्य गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको दारेचोक घोप्टेभिरमा दुर्घटनामा परेको थियो । जीप दुर्घटनाका सम्बन्धमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठन भएको छानबिन समितिले सो निष्कर्ष निकालेको हो ।

समितिले पूर्वमन्त्री घिमिरेले जिप आफैले चलाएको तथा दुर्घटनामा अन्य पक्षको हात नरहेको र यसलाई दुर्घटनाकै रुपमा लिनु पर्ने रायसहितको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।

प्रतिवेदन बुझाउँदै संयोजक रानाले भने, ‘उहाँको जिपले आफूअघिको ट्रकलाई उछिन्दै अघि बढ्न खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आएपछि ठोक्किनबाट जोगिन खोज्दा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको देखिन्छ ।’

दुर्घटनाको समयमा चालककारुपमै रहनुभएका पूर्वमन्त्री घिमिरेले ‘ब्रेक’ नलगाएको अनुमानसमेत गरिएको छ । गत असोज ११ गते १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति गठन गरिएको थियो ।

सो क्षेत्र दुर्घटना बढी हुने क्षेत्र भएका र सोहीअनुरुपको सावधानीका लागि सवारी चिह्नसमेत राखिए पनि त्यसको पालना नभएको देखिएको प्रतिवेदनमा औँल्याइएको छ । दुर्घटनाको समयमा सशस्त्र प्रहरीका हवल्दारसमेत रहेका चालक विष्णु राईले पूर्वमन्त्री घिमिरेले जिप चलाउँछु भनेपछि आफूले छोडेको र दुर्घटनाको बखत आफू निदाएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

जिपमा सवार सातमध्ये चालक राई मात्रै बाँच्नुभएको थियो । पूर्वमन्त्री घिमिरेसहित उहाँका आमा, दुई भाइको मृत्यु भएको थियो । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले दुर्घटना दुःखद भएको बताउँदै प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ