arrow

चेक बाउन्स हुनेले बैंकिङ कारोबार गर्न पाउने, ऋण लिन नपाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
rastra-bank-always-81-4-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चेक डिफल्टरहरुको छुट्टै सूची बनाउने भएको छ । खातामा पर्याप्त रकम नभई चेक दिने व्यक्तिहरुलाई कालोसूचीबाट हटाउने घोषणा गरेको राष्ट्र बैंकले कर्जा सूचना केन्द्रमै अर्को सूची बनाउनेगरी निर्देशन दिन लागेको हो । 

उक्त निर्देशन जारी भएपछि हाल चेक अनादरका कारण कालोसूचीमा परेकाहरु उक्त सूचीबाट हट्ने छन् । तर नयाँ सूची निर्माण गरी उनीहरु ‘डिफल्टर’को सूचीमा भने रहने छन् । 

यो सूचीमा पर्नेहरुले निक्षेप कारोबार तथा बैंकका अन्य सेवाहरु पाउने छन् । तर ऋण लिन भने उनीहरुलाई अंकुश लगाइनेछ । एकपटक डिफल्ट लिस्टमा परेकालाई भविष्यमा समेत ऋण कारोबारमा निगरानी हुन सक्छ । 

अहिले करिब ३९ हजार व्यक्तिहरु चेक अनादरको केसमा कालोसूचीमा छन् । यो वर्ष मात्रै झण्डै १० हजार व्यक्ति यो प्रकरणमा कालोसूचीमा थपिएका छन् । 

चेक अनादर गर्नेहरुले वित्तीय दायित्व पूरा नगरेको भए पनि यसकै आधारमा बैंकिङ कारोबार नै प्रतिबन्ध लगाउनु अन्तराष्ट्रिय अभ्यास अनुकुल र उपयुक्त नभएको राष्ट्र बैंकको बुझाइ छ । 

अहिले राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनको लागि एकीकृत निर्देशनका बुँदाहरु संशोधनको तयारी गरिरहेको छ । उक्त निर्देशनमा चेक अनादरको सन्दर्भमा विस्तृत व्याख्या गर्ने तयारी गरिएको छ । 

राष्ट्र बैंकको यो व्यवस्थापछि चेक लिएर भुक्तानी नपाएकाहरु आत्तिएका छन् । त्यसैले यो व्यवस्थामा राष्ट्र बैंकको आलोचना भइरहेको छ । तर, राष्ट्र बैंकले बैंकबाट ऋण लिएर नतिर्ने र व्यक्तिगत लेनदेनमा पैसा नतिर्नेलाई एउटै वर्गीकरण गर्न हुँदैन भन्दै यो व्यवस्था हटाउने नीति लिएको थियो । 

चेक अनादरलाई सरकारले भने फौजदारी अपराधको रुपमा ब्याख्या गर्दै आएको छ । सरकारको नीतिका बाबजुदसमेत राष्ट्र बैंकले यस्ता डिफल्टरविरुद्ध खुकुलो नीति लिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ