arrow

‘म प्रधानमन्त्री रहेसम्म संशोधन प्रस्ताव फिर्ता हुदैन' : प्रचण्ड

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
prachand--g-naya.jpg.jpeg
दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका छन् । 
 
दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई बुधबार देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने र संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्ने बताए । 
 
एमालेले तयार पारेको संशोधन प्रस्तावमा आफूले थोरै थपघट गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्री दाहालले एमालेले प्रस्तावको गलत प्रचार गरेको बताए । उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दललाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरे। 
 
प्रधानमन्त्री प्रचण्डले भने –“अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्नेछ, सरकारले हिमाल पहाड–तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखण्डन पो गर्न खोजेका रहेछौं भनेर एमालेले केही समयपछि गल्ती महसुस गर्नेछ ।” प्रधानमन्त्री दाहालले दाङको विकासमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। 
 
माओवादीले दाङलाई केन्द्रमा राखेर विगतका दिनदेखि नै आफ्ना गतिविधि बढाएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले दाङको विकासका लागि लमही–कोइलावास सडकको स्तरोन्नति आवश्यक रहेको बताए ।
 
भारत भ्रमणको बेला आफूले नेपालको हुलाकी मार्ग निर्माणका लागि सहयोग सम्झौता गरेको भन्दै उहाँले आफ्नै शासनकालमा लमही–कोइलाबास सडकको स्तरोन्नति हुने विश्वास दिलाए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ