पुनःनिर्माणका प्राविधिक आन्दोलनमा : प्राधिकरणले भन्यो–पेशागत मर्यादाको ख्याल राख्नुस्
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
1.1k
Shares
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले सबै भन्दा बढी क्षति पुगेका विभिन्न जिल्लामा खटिएका प्राविधिकहरुले गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधाधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले मंगलबार जारी गरेको प्रेस नोटमा प्राविधिकहरुले फिल्ड भत्ता, बीमा, सञ्चार, यातायात सुविधा लगायतका माग राखी कामकाज रोक्ने गतिविधि गरेको समाचारप्रति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको उल्लेख छ ।
थपलियाले गत कार्तिक १० गते बसेको पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकबाट पुनर्निर्माणमा खटिएका जनशक्तिहरुलाई मापदण्ड र सूचकका आधारमा बढीमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन निर्णय भई कार्यान्वयनका लागि गृहकार्य अघि बढिसकेको समेत उल्लेख गरेका छन् ।
विज्ञप्तिमार्फत उनले सीमित स्रोत र साधनका बीचपनि पुनर्निर्माणमा खटिएका जनशक्तिहरुलाई कामप्रति जिम्मेवार, जागरुक र प्रोत्साहित गर्न अतिरिक्त सुविधा दिने निर्णय कार्यान्वयन हुने क्रममा रहेको अवस्थामा सेवा सुविधाको विषयलाई लिएर पुनर्निर्माणको काममा बाधा व्यवधान नगर्न, नगराउन र भूकम्प प्रभावित जनसमुदायको उत्थानका लागि पूर्ण रुपमा समर्पित भई पेशागत मर्यादाको समेत ख्याल राख्न सुझाएका छन् ।
भूकम्पले बढी क्षति पुगेका १४ जिल्लामा पुनःनिर्माणको लागि खटिएका २४ सय बढी प्राविधिक आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणको काम नै रोकिएको छ । निर्माणमा खटिएका इन्जिनियरसहित प्राविधिक कर्मचारी काम रोकेर आन्दोलनमा उत्रिएपछि सरकारले नयाँ भाका दिएको माघभित्र लक्षित भूकम्प पीडित छानामुनि आउन नसक्ने बताइएको छ ।
प्राविधिकहरुले काममा खटिएका सबैको बीमा, पर्व भत्ता, दुर्गम भत्ता र प्रोत्साहन भत्ता २०७३ साउन १ गते देखि नै लागु हुने गरी दिनु पर्ने माग राखेका छन् । उनीहरुले त्यसको तत्काल व्यवस्था हुनुपर्ने नभए काम छोडिदिने चेतावनी समेत दिएका छन् । विभिन्न जिल्लामा खटिएका २७ सय प्राविधिक मध्ये दुई सय ५० जना काम छोडेर हिँडिसकेका सहरी विकास मन्त्रालयले जनाएको छ ।