बाँके । एकतर्फी ढंगले गैर पत्रकारलाई सदस्यता सिफारिस गरेको र क्रियाशिल पत्रकारलाई सदस्यताबाट बन्चित गरेपछि नेपाल प्रेस युनियन बाँकेले पत्रकार महासंघ बाँकेको कार्यालयमा सोमबार तालाबन्दी गरेको छ । युनियनका अध्यक्ष जयनारायण शाहको नेतृत्वमा पुगेका पत्रकारहरुले सोमबार ताला लगाएका हुन् ।
महासंघ बाँकेको नेतृत्वले विधी र प्रक्रिया नपु¥याएर एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै उक्त गल्ती सच्याउन युनियनले दुई दिन अघि ४८ घण्टे अल्टिमेटम दिएको थियो । सो अवधिभर महासंघ नेतृत्वले कुनै चासो नदिएपछि तालाबन्दी गर्नुपरेको अध्यक्ष शाहले बताए । महासंघका कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई बहुमतको आडमा क्रियाशिल पत्रकारलाई बाइपास गरी गैर पत्रकारलाई सदस्यता सिफारिस गरेका कारण उक्त गल्ती नसच्याउँदा सम्म तालाबन्दी जारी रहने उनले बताए ।
त्यसअघि, सोमबार नै सम्पन्न युनियन बाँकेको बृहत भेलाले पत्रकारको छाता संगठन महासंघलाई वर्तमान नेतृत्वले कुनै अमूक पार्टीको भातृ संगठन बनाउन खोजेको निष्कर्ष निकालेको थियो । पत्रकार महासंघ बाँकेको नेतृत्वले विधी र प्रक्रिया मिचेर एकलौटी रुपमा सदस्यता वितरण गरेको सम्बन्धमा महासंघका पुर्व अध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तीका विषयमा सामाजिक सञ्जालमा एमाले बाँकेका उप–सचिव प्रमोद धितालले आपत्तिजनक टिप्पणी गरेकोमा उक्त कार्यको भत्र्सना गर्दै भेलाले खेद प्रकट गरेको छ ।
युनियन बाँकेका अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेपाल प्रेस युनियनका केन्द्रीय उप–महासचिव एवम् पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष तथा महासंघपुर्व केन्द्रीय सदस्य प्रेम केसी, महासंघका पुर्वकेन्दी्रय उपाध्यक्ष हेमन्त कर्माचार्य, महासंघका पुर्व अध्यक्ष नीरज गौतम, युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, युनियनका पुर्व केन्द्रिय सदस्यद्धय दामोदर भण्डारी र उमा थापामगर, महासंघ बाँकेका निवर्तमान अध्यक्ष शुक्रऋषि चौलागाई, सल्लाहकार राकेशकुमार मिश्र, अवधी पत्रकार संघका निवर्तनमान अध्यक्ष सुर्यलाल यादव, सामुदायिक रेडियो प्रसारक संघका तुला अधिकारी लगायतले पत्रकार महासंघ बाँकेको पछिल्लो गतिविधीबारे टिप्पणी गरेका थिए ।
उता, सदस्यता वितरणमा असहमति जनाउँदै विभिन्न जिल्ला स्थित पत्रकार महासंघको कार्यालयमा तालाबन्दी भईरहेको छ भने महासंघको केन्द्रीय कार्यालयमा समेत दैनिक जसो उजुरीहरु परिरहेको छ । पछिल्लो समय विभिन्न जिल्लामा विधि विपरित सदस्यता दिईएकोमा युनियन केन्द्रीय समितिले पनि ध्यानाकर्षण भएको जनाएको छ । यसरी विभिन्न जिल्लामा भएका गल्ती कमजोरीलाई नसच्याउने हो भने महासंघको केन्द्रीय कार्यालयमा नै ताला लगाउन पनि युनियन बाध्य हुने युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।