नेपालमै पहिलो पटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
875
Shares
काठमाडौँ। शशिला मोटर्स प्रालिले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ। एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले जनाएको छ। सीएटीएल १ सय २३ किलोवाटको (लिथियम फलाम फास्फेट) ब्याट्री जडान हुने यो बसमा पूर्ण रूपमा एयर कन्डिसन र सबै खाले सेप्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुनेछ।
फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए। एक सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ। उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस सञ्चालकलाई बिना झन्झट सेवा दिने पनि बताएका छन्।
दसैँलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ। विगत दश वर्षदेखि व्यावसायिक गाडीहरू विक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रालि पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भान्चे ब्राण्डका सबै बस तथा भ्यानहरूको पनि आधिकारिक बिक्रेता बनेको छ। जुन धावक डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो।