बुर्तिबाङ (बाग्लुङ) । परराष्ट्र मन्त्री प्रकाश शरण महतले सरकारले अघि सारेको वर्तमान संविधान संशोधनको प्रस्तावमा यसअघि नेकपा (एमाल)को पनि सहमति रहेको बताएका छन् ।
महतले मधेशवादी दलको जायज माग सम्बोधन गर्ने क्रममा यतिसम्म संशोधन गर्दा देशले निकास पाउँछ र संविधान कार्यान्वयनका लागि सबैको साझा सहमति बन्छ भने संशोधन गरौँ भनेर एमाले र मधेशवादी दलसहितको परामर्शपछि सरकारले प्रस्ताव अघि बढाएको बताए ।
शनिबार बाग्लुङको बुर्तिबाङमा आयोजित चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा महतले भने— “संविधानमा केही असहमति व्यक्त गरिरहेको पक्ष पनि यस संशोधनमार्फत संविधान कार्यान्वयनका लागि एकै ठाउँमा आउने र देशले दीर्घकालीन रुपमा निकास पाउने भएकोले सबै राजनीतिक शक्तिको सहमतिमा नै यो प्रस्ताव तयार भएको हो ।”
नेपाली काँग्रेसले प्रस्ताव अघि सार्यो भनेर वास्तविकता बाहिर गएर राजनीतिक रुपमा अतिरञ्जित गर्ने काम एमालेमार्फत भएको र मधेशवादी दलले पनि असन्तुष्टि व्यक्त गर्ने काम हुनु इमान्दिारिता नभएको उनको भनाइ थियो ।
“त्यतिवेलै संविधानमा सबैको भावना समेटिनेगरी भनेर अहिलेको प्रस्ताव तयार भएको थियो तर अहिले आएर तत्कालीक रुपमा राजनीतिक फाइदाका लागि यसको विरोध गरिँदैछ,” महतले भने । मुलुकको दीर्घकालीन हित र आर्थिक समृद्धिका लागि अब संविधानको पूर्ण कार्यान्वयनमार्फत स्थानीय लगायतका तहको निर्वाचनको काम ढिला भइसकेकोले सबै राजनीतिक दलको सहमति र सहकार्य अति आवश्यक रहेकोमा उनले जोड दिए ।
नेकपा (एमाले) र मधेशवादी दललाई अहिलेको हठ त्यागेर छलफलमा आइ आवश्यक सहमति निर्माणका लागि पहल थाल्न उनले आग्रह गरे । मन्त्री महतले सीमित स्रोत र साधनका बाबजुत पनि नेपालले खेलकूदका क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाइरहेको भन्दै खेलकूदको विकासका लागि प्रतिबद्धता व्यक्त गरे। रासस