काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिबारे पोलिटब्यूरोलाई जानकारी गराएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पोलिट्ब्यूरो बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष दाहालले नेताहरुलाई जानकारी गराएका हुन् । बैठकमा दाहालले संविधान संशोधनमा सबै सहमति जुटाउन सरकार प्रयत्नशील रहेको सुनाए ।
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल एमाले र मधेशी मोर्चासँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताए ।
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक संरचनाका विषयमा छलफल चलिरहेको बैठकमा आइतबारदेखि नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूची छ ।