काठमाडौ । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा शनिबार पनि व्यापक प्रदर्शन गरिएको छ । प्रस्तावित ५ नं प्रदेशबाट रुपन्देही बाँके लगायतका जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाहरुमा शनिबार पनि बिहानैदेखि व्यापक प्रदर्शन गरिएको सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघहरुले जानकारी दिएका छन् ।
ती सबै जिल्लाहरुमा भएका प्रदर्शनहरुमा उद्योग वाणिज्य संघले नेतृत्व लिएको छ । संशोधनको विरोध स्वरुप शनिबार प्यूठान जिल्लामा मात्रै १० वटा विरोधका कार्यक्रमहरु राखिएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी दिए ।
उनले संशोधनको विरोध स्वरुप १० वटा बजार इलाकामा आयोजना गर्न लागिएको विरोध कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योग व्यवसायी, पत्रकार लगायत विभिन्न पेशामा आबद्ध व्यक्तिहरुको उपस्थिती रहने जानकारी दिए ।
उनका अनुसार जिल्लाको मल्लरानी बजार इलाका(खलंगा), भित्रीकोट बजार इलाका( विजुवार), देविस्थान बजार इलाका(देविस्थान), स्वर्गद्वारी बजार इलाका(भिग्री), सरुमारानी बजार इलाका(वड्डाँडा), विजुलीकोट बजार इलाका(चुजाठाँटी), ऐरावती बजार इलाका(बरौला), गौमुखी बजार इलाका (ठुलावेसी), ओखरकोट बजार इलाका(मच्छी) र नौ बहिनी बजार इलाका (बहानें)मा विरोध सभा गर्ने तयारी भईरहेको छ ।