बुटवल। सरकारले पाँच नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध शुक्रबार बुटवलमा विरोध प्रदर्शन गरिएको छ ।
बुटवलमा आयोजित प्रदेश नम्बर ५ स्तरीय सर्वदलीय अगुवा भेलामा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संसदमा दर्ता गरेको सविधान संशोधन प्रस्ताव असंवैधानकि कदम भएकाले यसलाई संसद, सडक र कानुनीरुपले समेत असफल पारिने बताए ।
उनले संविधान संशोधनको काम संविधानतः प्रदेशसभाले गर्ने भएको हुँदा त्यसमा सरकारले संविधानविपरीत काम गरेको बताए । यसैगरी नेकपा (एमाले) कास्कीद्वारा सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधनको प्रताव फिर्ता लिन माग गर्दै आज पोखरामा विरोध जुलुश प्रदर्शन गरिएको छ ।
पोखराको सभागृहचोकबाट सुरु भएको विरोध जुलुस मानवअधिकार चोक, चिप्लेढङ्गा हुँदै महेन्द्र पुलमा पुगेर सभामा परिणत भएको थियो । रासस