arrow

प्रचण्ड र माधवबीच छलफल, सरकारमा बस्न अप्ठेरो भएको जनाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
prachanda-madhav-nepal-new.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भेटघाट भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनीहरुबीच भेटघाट भएको हो । सुदूरपश्चिम प्रदेशको सरकारलाई विश्वासको मत दिने विषयमा उनीहरुबीच कुराकानी भएको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री भेट्न दिउँसो साढे ३ बजे प्रधानमन्त्री कार्यालय पुगेका नेपाल करिब आधा घण्टामा बाहिरिएका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिपछि सरकारमा नेकपा एसको सहभागिताबारे पनि छलफल भएको स्रोतको दाबी छ । 

नेकपा एसले जेठको पहिलो साता सरकार छाड्ने संकेत गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई तत्काल सरकार नछाड्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले  सुदूरपश्चिम प्रदेशको सरकारलाई विश्वासको मत दिलाउन आफूले एमालेसँग संवाद गरिरहेको बताएका थिए । ‘एमालसँग पनि संवाद भैरहेको छ’, प्रचण्डको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । 

आफू प्रधानमन्त्री हुने योजनाका साथ माधवले कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन खोजेको र त्यही पृष्ठभूमिमा जसपा फुटेको एमालेको दाबी रहेको बेला नेपालले अहिले नै गठबन्धन छाड्ने वा समर्थन फिर्ता लिने एसको योजना नभएको विश्वास दिलाएका थिए । 

तर उनले अहिलेको सरकारबारे भने आफू त्यति सन्तुष्ट नभएको पनि प्रधानमन्त्रीलाई बताएका थिए । उनले बजेट निर्माण, सरकारी नियुक्ति लगायतका सबै विषयमा नेकपा एसलाई बेवास्ता गरेको र आफूहरुलाई भर्याङको रुपमा मात्रै प्रयोग गरेकाले सरकारमा बस्न अप्ठेरो भएको पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

जसपा विभाजन भएपछि प्रधानमन्त्रीसँग नेपालले भेटेर आफ्ना धारणा राखेको  स्रोतको दाबी छ । ‘ प्रधानमन्त्रीलाई आज दाँत दुःखेको रहेछ, उहाँ अस्पताल जान हत्तारिनु भयो, भोलि फेरि बस्ने कुरा छ’, माधव निकट स्रोतले भन्यो । 

स्रोतका अनुसार बिहीबार पुनः दुई जना बसेर सरकार र भावी रणनीतिबारे छलफल गर्ने गरी बुधबारको भेटघाट टुंगिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ