जुम्ला । नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको मूर्ति चोरी भएको छ । चार हात भएको दत्तात्रेय भगवान्को मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति शनिबार राति चोरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। १४ वटा मूर्तिमात्र नभई अन्य बहुमूल्य वस्तु पनि त्यहाँबाट चोरिएको हुन सक्ने प्रजिअ पण्डितले बताए । त्यसका लागि अहिले अनुसन्धान कार्य जारी राखिएको उनको भनाइ छ।
चोरी भएको दत्तात्रेयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको कर्णालीका धार्मिक तथा संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए। मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर दत्तात्रेय भगवानको मूर्ति राखिएको र यो १२ धार्नी भएको आचार्यले जानकारी दिए।
त्यसका साथै सुन र चाँदीले बनेको १८ हात भएको भगवतीको मूर्ति, तामा र पित्तलले बनेको बुद्धको मूर्ति र अन्य मिश्रित धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरालगायतका देवी देवताका मूर्ति चोरी भएको उनको भनाइ छ। जिप्रका, जुम्लाका प्रहरी निरीक्षक दिलबहादुर थापाले चोरीको घटना कसरी भएको भन्ने कुरा अध्यययन अनुसन्धान हुनाका साथै सो स्थलमा प्रहरीले सुरक्षा दिइरहेको जानकारी दिए।
मन्दिरका पूजारीले राति १.५५ बजे खवर गर्नासाथ प्रहरी टोली सुरक्षाका लागि प्रहरी निरीक्षक दीलबहादुर थापाको नेतृत्वमा टोली खटिएको थियो।
चोरी भएका सामग्रीहरु के के थिए ?
–चन्दनाथ बैधब तामाको मुर्ति थान –२ ठूलो
–,दन्त आत्य चांदिको मुर्ति थान–१
–दुर्गा भवानीको चांदिको मुर्ति थान–१
–महाकालको चांदिको मुर्ति थान– १
–कृष्ण भगवानको पित्तलको मुर्ति थान–१ ठुलो र थान–१ सानो
–शिवजीको पत्तलको मुर्ति थान–१ सानो
–दुर्गा भगवानको पित्तलको मुर्ति थान–१
–शंख थान–२