काठमाडौं । चिकित्सा क्षेत्रको विकृत हटाउन आमरण अनसनरत चिकित्सक प्राडा गोविन्द केसीको समर्थनमा उत्रिएका ३१ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी प्रभाग कालीमाटीमा राखेको छ । शनिबार साँझ ५ बजे कलंकीबाट पक्राउ परेका उनीहरुमध्ये तीन जना रिहा भएका छन् भने बाँकी २८ जना अझै प्रहरीको नियन्त्रणमा रहेको कालीमाटी प्रभागले जनाएको छ ।
प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँको घर घेर्न गएकाले पक्राउ गरिएको जनाएको छ ।
यता पक्राउ परेर थुनामुक्त हुन नसकेपछि डा. केसीका समर्थकले भने बिना कारण ज्यादती दिन खोजिएको भन्दै प्रहरी प्रभागमै आमरण अनसन थालेका छन् ।
आमरण अनसनरत विवेकशील नेपाली दलका केन्द्रीय कार्यपालिका प्रमुख पुकार बमले आफूहरुलाई प्रक्राउ गर्नुको कारणबारे प्रशासनले लिखित स्पष्टिकरण नदिउन्जेल आमरण अनसन बस्ने जनाए ।
बमले ५ बजेदेखि नै आमरण अनसन बसेको जनाए । बमकै नेतृत्वमा कलंकीमा केसी समर्थकहरु भेला भइरहँदा एक्कासी प्रहरीले सबैलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकालाई रिहाइ गर्न आइतबार बिहान डा. केसीका समर्थकहरु कालीमाटी प्रभाग पुगेका छन् ।
१५ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य भने गम्भीर बन्दै गएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाको प्रतिवद्धताअनुसार डा केसीसंग वार्ता गर्नका लागि सरकारले शनिबारै वार्ता टोली गठन गरेको छ ।
डा केसीको समर्थनमा शिक्षण अस्पताल महाराजगञ्जका रेजिडेन्ट चिकित्सकहरु पनि आन्दोलनमै छन् ।