काठमाडौं । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यस्थिती दिन प्रतिदिन विग्रिँदै गईरहँदा पनि सरकार मौन बसेको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । शनिबार काठमाडौंको माईतीघरमा भेला भएका विद्यार्थीहरुले बबरमहल विजुलीबजार हुँदै बानेश्वरमा पुगेर कोणसभा गरेका थिए । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि १० बुँदे माग राखेर डा. केसी दुई सातादेखि आमरण अनसनमा बसिरहेका छन् ।
निधारमा पागल लेखिएको पट्टी टाँसेका विद्यार्थीहरुले सांकेतिक रुपमा ‘प्रधानमन्त्री’, ‘शिक्षा मन्त्री’ ‘त्रिवि उपकूलपति’ लेखेको प्लेकार्ड बोकेर हिँडेका थिए । टोलीले वानेश्वर पुगेपछि सांकेतिक प्रधानमन्त्री शिक्षा मन्त्री र त्रिवि उपकूलपतिलाई विरोध स्वरूप सिटामोल पनि दिएका थिए ।
प्रदर्शनमा शिक्षण अस्पतालका आवासीय चिकित्सकसँगै डाक्टर केसीका समर्थकहरुको उपस्थिती रहेको थियो ।
उनीहरूले चिकित्सा शिक्षा क्षेत्रलाई व्यवस्थित बनाएर आम जनतालाई सहज रुपमा उपचार गर्ने वातावरण मिलाउन माग गरेर अनसन बस्दा पनि डा. केसीका माग पूरा गर्न सरकारले चासो नदेखाएको आरोप लगाए ।