सरकारको काम संविधानको कार्यान्वयन गर्नु हो, संशोधन होइन
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
1.2k
Shares
पोखरा । एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारको काम संविधान संशोधनका लागि नभएर कार्यान्वयनका लागि भएको बताएका छन् ।
पोखरा विमानस्थलमा भएको पत्रकार भेटघाटमा ओलीले सरकार संविधानको कार्यान्वयनतर्फ नलागी सङ्क्रमणकाललाई लम्ब्याउँदै संशोधनलाई प्राथमिकता दिएर अघि बढेको बताए ।
जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य नहुने बताउँदै उहाँले देश तथा जनताका हकअधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुनसक्ने बताए ।
सरकारले विवादलाई समाधान गर्नेभन्दा पनि बल्झाउनेतर्फ लागेको उल्लेख गर्दै ओलीले भने, ‘५ नम्बर प्रदेशमा आक्रमण गरिएको छ, प्रदेश ४ को नवलपुर सम्बन्धमा विवाद झिकिएको छ, पहाड र तराई छुट्याउनेलगायतका कुराभित्र अशोभनीय एवम् रहस्यात्मक कुरा रहेका छन् ।’
विसं २०७४ माघ ७ गतेसम्म चुनाव नभए राजनीतिक र संवैधानिक सङ्कट उत्पन्न हुने भए पनि त्यसतर्फ सरकारको कुनै तयारी नभएको ओलीको भनाइ छ ।
कुनै नयाँ आयोजना वा भइरहेका आयोजनामा बजेट नपुग भए मात्र पुरक बजेट ल्याउन सकिने भएपनि सरकारले त्यस्तो अवस्था पुष्टि गर्न नसकी पुरक बजेट ल्याउन खोजेको नेता ओलीले आरोप लगाए । रासस