arrow

लैङ्गिक हिंसा विरुद्ध अभियानः न्यायको खोजीमा हिँड्दा पुलामीको रहस्यमय मृत्यु

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
Killed.jpeg
पाल्पा । देशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा न्यायको खोजीमा हिँडेकी पाल्पा ताहुँ–७ की विनु पुलामीको रहस्यमय मृत्यु भएको खुलेको छ । 
 
गत कात्तिक–४ गते राम्दीघाट नजिक बेवारिसे अवस्थामा फेला परेको महिलाको शव विनु पुलामीकै भएको माइती पक्षले दाबी गरेपछि उनको मृत्यु भएको खुलेको हो । 
 
बेवारिसे महिलाको शवको तस्बिर, कपडाका आधारमा माइती पक्षले विनु पुलामी नै भएको बताएका छन् । 
 
बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसक्दा प्रहरीले शव व्यवस्थापनका लागि तानसेन नगरपालिकालाई जिम्मा लगाएको प्रहरीले बताएको छ । 
 
आफन्तबाट लासको खोजी हुन नसक्दा तानसेन नगरपालिकाले कात्तिक ८ गते राम्दीघाटमा लगेर शव गाडेको हो । 
 
पुलामी दसैंपछि एक्कासि बेपत्ता बन्दै आए पनि श्रीमान र घरपरिवारले उनको खोजीमा सक्रियता देखाएको थिएन । 
 
जिल्ला शिक्षा कार्यालय, पाल्पामा प्राविधिकका रुपमा कार्यरत पुलामीका श्रीमान दीपेन्द्र बस्याल सोमबारदेखि फरार अवस्थामा रहेका छन् ।
 
 बस्यालले अर्की प्रेमिका लिएर भारततिर भागेका हुन् । २०६९ सालमा पुलामी र बस्यालबीच अन्तरजातीय प्रेमविवाह भएको आफन्त बताउँछन् । 
 
गत चैतदेखि पुलामी र बस्यालबीच सम्बन्ध राम्रो नभएको खुलेको छ । महिला तथा बालबालिका कार्यालयमा भदौ ३१ गते पुलामीले आफू अन्यायमा परेको भन्दै मौखिक निवेदन दिएको निमित्त कार्यालय प्रमुख सुष्मा रेग्मीले जानकारी दिइन् । 
 
पुलामीले महिला तथा बालबालिका कार्यालयमा शारीरिक र मानसिक यातना भोग्न बाध्य भएको कार्यालयलाई जानकारी गराएपछि आफूहरुले जिल्ला प्रहरी कार्यालयमा जान अनुरोध गरेको जनाएको हो । 
 
बस्यालले पुलामीलार्ई पटकपटक मानसिक तथा शारीरिक यातना दिँदै आएको पुलामीका बुबा नरबहादुरको दाबी छ । 
 
माइती पक्षले उनको हत्या गरी फालिएको किटानी जाहेरीमा उल्लेख गरेको छ । जाहेरीमा विनुका श्रीमान ताहुँ–७ का दीपेन्द्र बस्याल, दीपेन्द्रका बुबा र आमालाई विपक्षी बनाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस्यालका बुबाआमा शिक्षक–शिक्षिका हुन् । 
 
गाडेको शव निकालेर अनुसन्धान 
 
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक रमेशराज भेटवालको नेतृत्वमा गएको प्रहरीले गाडेको लास निकालेर अनुसन्धान थालेको छ ।
 
 प्रहरीले गाडेको लास पुलामी मगरको हो वा होइन भन्ने बारेमा बुझ्नका लागि लासको दाँत र खुट्टाको हड्डी निकालेर डिएनए परीक्षणका लागि जिल्लामा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ । 
 
एक महिनापछि दाहसंस्कार 
 
माइती पक्षले गाडेको शव विनु पुलामीमगरकै भएकाले दाहसंकार गरेका छन् । बुबा नरबहादुरले छोरी पुलामीको शवलाई दागबत्ती दिएका हुन् । 
 
पुलामी दसैंपछि माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् । कात्तिक ४ गते राम्दी नदीको किनारामा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो । 
 
शवको सनाखत हुन नसक्दा कात्तिक ८ गते राम्दीमा लास गाडिएको थियो । 
 
प्रहरीले पुलामीको शव माइती पक्षलाई बुझाएको छ । शव बुझाएर दाहसंस्कार गर्ने बेलासम्म बस्यालका घरपरिवार पुगेनन् । 
 
माइती पक्षले मात्र पुलामीको दाहसंकार गरेका हुन् । घरपक्षका कोही पनि नआएपछि यो घटना थप रहस्यमय बन्दै गएको हो । 
 
पुलामीका श्रीमान बस्यालले पुलामीको फेसबुकबाट माइती पक्षसँग कुराकानी गर्दै आएका छन् । दसैंपछि विनु माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् तर फेसबुकबाट दीपेन्द्रले पुलामी बनेर कुराकानी गर्दै आएका थिए । 
 
जिल्ला प्रहरी कार्यालय पाल्पाले पुलामीको हत्या नै भएको जाहेरी परेपछि अनुसन्धानलाई सशक्त रुपमा अघि बढाएको छ । 
 
पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले माइतीपक्षको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ