काठमाडौँ। नेपाल प्रेस युनियनले आज काठमाडौँमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) का उपाध्यक्ष सविना इन्द्रजीत र महासचिव एन्थोनी वेलनेगरको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गर्यो । नेपाल प्रेस युनियनले आफ्नो स्थापनाको रजत बर्ष मनाइरहँदा युनियन भ्रमणमा आउनुभएका आइएफजेका उपाध्यक्ष सविना र महासचिव एन्थोनीलाई युनियन केन्द्रीय समितिले स्वागत तथा सम्मान गरेको हो।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटीले उहाँको सम्मान र नेपाली सञ्चारकर्मीको अवस्था र भूमिकाका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता प्राप्त गर्ने नेपालको पहिलो सञ्चार संस्था नेपाल प्रेस युनियन हो । नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १४ गते भएको हो ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घमा सदस्य राष्ट्रको सङ्ख्या १४० वटा छन् भने विश्वका छ लाख पत्रकार यस संस्थाका सदस्य छन् । यस संस्थाले विश्वका श्रमजीवी पत्रकारका पक्षमा वकालत गर्छ ।
कार्यक्रममा उपाध्यक्ष सविना इन्द्रजीतले नेपालको पत्रकारिता राजनीतिकरणतर्फ उन्मुख भएकामा चिन्ता व्यक्त गर्नुभयो । त्यसैगरी महासचिव एन्थोनी वेलनेगरले पत्रकार कसैको राजनीतिक विचारमा नभई जनताका भावनामा चल्नुपर्ने बताउनुभयो ।
नेपालमा आइएफजेको पहिलो सदस्य संस्थाको रजत बर्ष मनाइरहँदा युनियनका सदस्यहरुसँगको भेटघाट र युनियनको कार्यालयमा भेटघाट गर्न पाउनु खुसीको विषय भएको उपाध्यक्ष र महासचिवको भनाइ थियो।
नेपालमा आइएफजेले नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युनियनसँग समन्वय गरी पत्रकारका हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालका पत्रकारहरुको क्षमता वृद्धीको लागि युनियनसँग आइएफजेले सहकार्य गर्ने आइएफजेका पदाधिकारीहरुको भनाइ छ।