arrow

वीरगञ्जमा आईभीएफको नाममा धन्दा, बेवास्ता गर्दै स्वास्थ्य मन्त्रालय

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८१ वैशाख ५ बुधबार
ivf-birjung-2081.jpg

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मधेस प्रदेशमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधिद्वारा बच्चा जन्माउन एउटा पनि अस्पतालले इजाजत लिएको पाइएको छैन तर वीरगञ्जमा मात्र तीन वटा अस्पतालले आईभीएफ प्रविधिद्वारा बच्चा जन्माएका मात्र छैनन् हाकाहाकी त्यसको विज्ञापनसमेत गरिरहेको पाइएको छ । 

सूर्या अस्पतालकी सञ्चालिका स्त्री रोग विशेषज्ञ डा मोनिका सिंह यादवले आफूले हजारौँ दम्पतीलाई सन्तान सुख दिएको दाबी गर्दै सस्तो दर रेटमा आफ्नो अस्पतालले सेवा उपलब्ध गराउँदै आएको दाबी गरेको भएता पनि उनको अस्पतालले इजाजत पाएको छैन ।

आईभीएफ प्रविधिमार्फत सन्तान जन्माउन प्रक्रियाको थालनी गर्न स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाबाट इजाजत लिनुपर्ने हुन्छ। 

इजाजत बिना वीरगञ्जको सूर्या अस्पताल, ओम हस्पिटल प्राली र श्री भवानी हस्पिटल एवं रिसर्च सेन्टर प्रालीले यो सेवा दिइरहेको स्वयं उनीहरुले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराएका छन् ।

हाम्राकुराले यस सन्दर्भमा ओम हस्पिटलका सञ्चालक डा. जगतसँग बुझ्दा उनले आफूले कन्सल्टेन्सी सेवामात्र उपलब्ध गराएको  बताए । जबकि आईभीएफ सेन्टर अफ ओम हस्पिटल वीरगञ्ज नामक फेसबुक पेज नै बनाएर सर्वसाधारणलाई गुमराहमा राखेका छन् ।

अस्वस्थ्य जीवनशैली, बढ्दो वातावरणीय प्रभाव, खाद्यान्नमा विषादीको प्रयोग जस्ता अन्य थुप्रै कारणले मानिसको प्रजनन् शक्तिमा आएको ह्रास जस्तो अभिशापलाई वीरगञ्जका केही चिकित्सकहरुले सित्तैमा वरदान प्राप्त गरे जस्तै गरेर सर्वसाधारण जनतालाई गुमराहमा राखे पनि सम्बन्धित निकाय मौन छ। 

बाँझो दम्पतीका लागि आईभीएफ बहुमूल्य विकल्प भएता पनि यसको विश्वव्यापी सफलता दर लगभग ३० देखि ३५ प्रतिशतमात्र रहेको छ तर आईभीएफ सेन्टरहरूले १०० प्रतिशत सफलता दरको विज्ञापन निर्लज्जतापूर्वक गर्दै आएको भेटिएको छ ।

एउटा सुविधा सम्पन्न आईभीएफ सेन्टर सञ्चालनको लागि लगभग ६ करोड रुपैयाँ र घटीमा १०० बेडको अस्पताल चाहिन्छ । वीरगञ्जको मात्र नभई मधेस प्रदेशका कुनै पनि अस्पतालले आवश्यक पूर्वाधार निर्माण नगरेकोले कसैले पनि इजाजत नपाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख मदन उपाध्यायको भनाइ रहेको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको राजनीति गर्ने धरातल मधेस प्रदेश नै भएको र प्रायः बेथिति मच्चाउनेहरु पैसावाला भएकाले सुधार गर्नुको सट्टा केही लाभ लिएर चुप बस्नुमा नै उनले आफ्नो भलाइ ठान्दै आएको श्रोतको दाबी छ ।

प्रायः चाडपर्वको बेला मन्त्रालयबाट अनुगमनको नाममा एउटा टोली मधेस प्रदेश झर्ने र तारे होटलको वातानुकूलित कोठामा बसी खानपिन गरी पारी रक्सौल गई मार्केटिङ गरेर फर्किने गरेको थिति बसालिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ