रोल्पा । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दी गृहमा बुधबार एक महिला सुत्केरी भएकी छिन् । खुमेल ५ रोल्पाकी २९ वर्षिया धना बुढाथोकीले बन्दी गृहमै बुधवार बिहान छोरी जन्माएको प्रहरी सहायक निरिक्षक कुलबबहादुर रावतले जानकारी दिए ।
२०७३ असोज २५ गते दशैको टीकाको दिनमा आफैले जन्माएको ७ वर्षिया जेठी छोरीलाई लाठीले हिर्काएर हत्या गरेको अभियोगमा २०७३ कार्तिक ९ गतेदेखि उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । हाल उनलाई कर्तब्य ज्यान मुद्धा चलेको हुँदा पुर्पक्षका लागि थुनामा राखिएको छ । बन्दीगृहमै सुत्केरी भएकी बुढाथोकी र उनको बच्चाको अवस्था सामान्य रहेको छ ।
कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीले भने “हामीले सुत्केरीलाई १० मीटर कोरा कपडा, यौटा साधा साडी, सुत्केरी अवधीभरका लागि १ हजार रुपैयाँ , प्रत्येक दिन ७०० ग्राम चामल, ५० ग्राम ज्वानो, १०० ग्राम घिऊ तथा १०० एमएल तेल दिएका छौं । यस बाहेक जाडोका कपडाहरु तथा अन्य सामाग्रीहरु कसैले उपलब्ध गराए बच्चा र आमा दुवैलाई थप सहयोग मिल्ने थियो ।”
सहायक प्रहरी निरिक्षक रावतका अनुसार उनको आर्थिक अवस्था निकै कमजोर छ भने शारीरिक अवस्था पनि निकै कमजोर देखिएको छ । उनका अनुसार बुधवार नै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले थर्मस र केही सामाग्री पठाउनु भएको छ भने कारागार कार्यालय रोल्पाले आफ्नो परिधिभित्र रहेर केही सामाग्रीहरु उपलब्ध गराएको छ ।
त्यसैगरी पुरुष कैदीहरुले सुत्केरीका लागि आज यौटा कुखुरा दिएको र बिहिवार सबैले सक्दो रकम उपलब्ध गराउने निर्णय भएको कैदी रोहित पुनले बताए। जाडोको मौसम, भुइको बिस्तरा यदि यस्तो समयमा सुत्केरीको राम्रो स्याहार सुसार हुन सकेन भने दुबैको अवस्था जोखिममा पर्न सक्छ । सुत्केरीका लागि अन्य थप सामाग्रीहरु र बच्चाको लालन पालनमा आवश्यक पर्ने सामाग्री तर्फपनि सबैको ध्यान दिन कैदी वन्दीहरुले प्रसासनसँग माग गरेका छन्।