arrow

माओवादी निकट पञ्चा सिंहलाई पक्राउ गर्न प्रहरीको विफलता

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
pancha-sing.jpg

काठमाडौँ। १५ वर्षअघि भएको एक हत्या प्रकरणमा मुछिएकी माओवादी निकट विद्यार्थी सङ्गठनकी अध्यक्ष पञ्चा सिंहलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिए पछि उनी विरुद्ध गत माघमै दोस्रो पटक पक्राउ पुर्जी जारी भएको थियो।

कालिकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो।

१५ वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादमा जन माविमा अध्ययनरत कालिकोटका युवक राजबहादुर मल्ल (१७)को हत्या भएको विषयमा सिंहलाई दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको लामो समय हुँदा पनि प्रहरी मौन रहेको छ। साथै वर्तमान सरकारका गृहमन्त्री रवि लामिछानेले समेत यो विषयमा ध्यान दिन सकेका छैनन्। सत्ता गठबन्धनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्। प्रधानमन्त्री र गृहमन्त्रीको मिलेमतोमा भएसम्म उनलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्ने अवस्था छ।

मल्ललाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैटौँ डिभिजनमा कार्यरत लडाकु र माओवादी निकटको अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले हत्या गरेका थिए। यो विषयमा प्रहरीले विस्तृत अनुसन्धान गर्नका लागि सिंहलाई पक्राउ गर्नुपर्ने हुन्छ।

मल्लको हत्यापछि उनका बुवा नन्दबहादुर मल्लले किटानी जाहेरी दिए। घटना भएको १५ वर्ष हुँदा पनि अहिलेसम्म अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन्। यो अवधिमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३१ वटा अनुसन्धान टोली गठन गरेको थियो। जिल्ला अदालतले घटनामा संलग्नहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। तर, अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन्। 

अभियुक्तहरू राजनीतिक पहुँचमा रहेकै कारण पक्राउ नपरेको  प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार हत्या घटनामा माओवादीनिकटको अखिल क्रान्तिकारीका हालका केन्द्रीय अध्यक्ष पञ्च सिंहसहितका माओवादीका नेता–कार्यकर्ताको संलग्नता छ। २०७९ साउन १३ गते मृतकका बुवाले प्रहरीमा दिएको जाहेरी अनुसार क्रान्तिकारीका अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरूले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत क्याम्पसमा भर्ना भएका थिए।

‘यो विषयमा मेरो छोराले आवाज उठायो, उनीहरूको भर्ना रद्द भयो,’ जाहेरीमा भनिएको छ, ‘त्यसपछि मेरो छोरालाई सिंहको नेतृत्वमा मार्ने योजना बनेको देखिन्छ।’ जाहेरीमा २०६५ माघ ११ गते सुर्खेतको वीरेन्द्रनगर–३ स्थित तातापानीमा आफन्तको घरमा बसिरहेको बेला तत्कालीन क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सिंहले तत्कालीन जनमुक्ति सेनाको गाडी र लडाकुहरूलाई ल्याएर घर घेरा हालेका थिए। ‘सिंहको नेतृत्वमा तत्कालीन जनमुक्ति सेनाका लडाकुहरूले घर घेरा हालेपछि झ्यालबाट भागेर छोरा नेपालगन्ज पुगेको थियो,’ बुवाले दिएको जाहेरीमा भनिएको छ, ‘केही समयपछि राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय र इन्सेकको सहजी करणपछि छलफलपछि छोरा सुर्खेत आएको थियो।’

सुर्खेत आएको केही समयपछि २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेका राजबहादुरमाथि आक्रमण भयो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको बुद्ध पथको देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो। प्रहरीका अनुसार कालिकोटको महावै गाउँपालिकाका प्रतिमा भन्ने पञ्च सिंह, टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अलि कार्कीको संलग्नता देखिन्छ।

घटनापछि हालसम्म प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३१ जनालाई अनुसन्धान अधिकारी तोकेको थियो। सबै अनुसन्धान अधिकारीहरूलाई कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरेर कार्यालयमा हाजिर गराउनु भनिएको छ। हत्या आरोपी सिंहसहित ६ जनाविरुद्ध जिल्ला अदालतले पहिलो पटक २०७९ साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ