arrow

प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न कांग्रेसलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
dolprasad-new.jpg

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरूले विरोध गरिरहेको आरोप लगाएका छन् उनले लोकतन्त्र सिकाउन खोज्ने कांग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो ? भन्दै प्रश्नसमेत गरे ।

उनले कांग्रेसका युवा नेताहरूलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरूले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भए पनि रास्वपा आइसकेपछि आफूहरूको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए । उनले देशको नेतृत्व गर्न नपाउने छटपटिमा कांग्रेसका युवा नेताहरू तड्पिएको बताए । उनले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न कांग्रेसलाई आग्रह गरे । उनले कांग्रेसले हामी बोली रहन्छौँ, तँ सुनिराख, तर बोल्न पाउँदैनस् भन्ने ध्येयका साथ आरोप लगाइरहेको बताए ।

उनले भने, ‘हामीलाई उहाँहरुले लोकतन्त्र सिकाउनु हुन्छ, अझ युवाले । उहाँहरुलाई के थियो भने एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ । तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटी भएको छ । अचम्म लाग्छ । जनताले त भोट हालिहाल्छ नि तपाईँले राम्रो काम गरे भने । वाकतन्त्र, वाकतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, ए हाम्रो ७० वर्षको, ५० वर्षको इतिहास छ, लौ न त ठिकै छ, तपाईँले नै सिकाएको लोकतन्त्रअनुसार हामीले पनि त बोल्न पाउँछ होला, तपाईँले मात्रै बोल्ने लोकतन्त्र त भन्नुभएको होइन होला । तपाईँले प्रश्न नै प्रश्न गरे, गाली नै गाली गरे, अब तपाईँहरूले यतिसम्म गरे की कहाँ के बोल्नुहुन्छ भन्ने बिर्सिनुभयो, त्यस कारणले म त्यो सम्झाइदिन्छु, मेरा कमी कमजोरी के हो, मेरो मुखबाट उत्तर दिने मौका दिनुपर्छ, प्रश्न मात्रै दिने जाँचमा उत्तर नदिने भए प्रश्नको मतलब भएन । उत्तर दिन दिनुस् भन्दा होइन, होइन, होइन, बोल्न पाउँदैनस्, तैँले बोल्न पाउँदैनस्, तँ सुनी मात्रै र, हामी गाली गरिरहन्छौँ, तैँले बोल्न पाउँदैनस्। गज्ज्व छ । गज्ज्वको लोकतन्त्र सिकाउनु भएछ ।’

उपसभापति अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक-दुई लाख रुपैयाँसम्म दिने बताए । उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरू कुनै कारोबारमा सही नगरेको दाबी गरे ।

उनले भने, ‘रास्वपको उपसभापति डिपी अर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला । मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरूले, लेख्ने मिडियाका साथीहरूले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ । मै ठगिएको छु । संस्थामा म सदस्य भएको हो, मैले भनेको छु । म उपाध्यक्ष भएको हो, त्यो अत्यन्त राम्रो उद्देश्यका साथ बनेको सहकारी रहेछ, हाम्रो नयाँ कृषि सहकारी भन्ने । त्यो कोभिडको पछि कृषिमा यति धेरै आयात हुँदो रहेछ, कोभिडमा अध्ययन गरियो । अध्ययन गरिसकेपछि त्यो संस्थालाई सञ्चालन गरेर कतै यो देशमा कृषिमा केही परिवर्तन ल्याउन सकिन्छ की, भनेर मैले नेतृत्व गर्ने क्षमता राखेर गएको हो, मलाई गर्व छ, त्यसमा । गएर काम गर्नुपर्ला भनेर पैसा लगानी गरियो, एक करोड लगानी गर्ने तयारीमा थिएँ, त्यसको लागि एक किस्ता २३ लाख लगानी गरेँ । काम गर्दै जाँदा एक महिनामा त्यहाँका साथीहरू, त्यसको इतिहास हेर्दा, त्यहाँ एक महिनामा अध्ययन गरेँ । संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर गएपछि उनीहरुले मलाई नेतृत्व दिन मानेनन् । त्यसपछि पुसको ११ गते राजीनामा गरेर म २३ लाख सकेको दिन फिर्ता गर्नुस् भनेर हिँडेको हुँ, म गएदेखि निस्किएसम्म कुनै कारोबार भएको छैन । अध्ययन गरेर लेख्नुस्, बोल्नुस् । मेरो तर्फबाट त्यो सहकारीमा साधारण सभामा उपाध्यक्ष हुनको लागि एउटा सही छाप भएको छ, त्यो भन्दा बाहेक मलाई केही थाहै छैन ।’

श्रममन्त्री अर्यालले कुनै पनि दिन देशको कानूनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको बताए । उनले केही गर्छु देशका लागि भनेर आउनेलाई कस्टडीमा राख्दै जाने हो भने नुवाकोटको जेल छिटै उद्घाटन हुँदै गरेको र जेल भर्ने लक्ष्यका साथ आरोप लगाइएको हो भने आफूहरू गएर बस्न तयार रहेको बताए । उनले देशमा जेलमा नबसेको मानिसले राजनीति गर्न हुँदैन भन्ने नेपाली कांग्रेसको बुझाइ हो भने जेलमा गएर बस्न स्वीकार रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ