arrow

उपनिर्वाचनमा कांग्रेस

एमालेका असन्तुष्ट मतसमेत तान्ने गरी कांग्रेसले उम्मेदवारको नाम टुंग्याउँदै 

इलाम र बझाङका उम्मेदवार छान्न कांग्रेस बैठक, सहमतिमा टुंगो लगाउन सिफारिस भएका आकांक्षीसँग देउवाको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
congress-flag3.jpg

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्न लागेको हो । 

बैठकमा इलाम २ को प्रतिनिधि सभा सदस्य र बझाङ १ (क) को प्रदेश सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाइने छ । यसअघि सोमबार सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेर सम्भावितहरुको बारेमा छलफल गरेका थिए । 

सो छलफलमा स्थलगत अध्ययन गरेका नेताहरुले जानकारी गराएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले आन्तरिक रुपमा कांग्रेस एकढिक्का भए दुवै सिटमा कांग्रेसले जित्ने बताएका थिए । उनले कांग्रेस अहिले बलियो रहेको र नेताहरुबीच समझदारी भएर बलियो उम्मेदवार उठाउने हो भने दुवै सिट कांग्रेसले जित्ने बताएका हुन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले बझाङ १ (क) का आकांक्षी र उनीहरुको पकड र सम्भावनाका बारेमा जानकारी गराएका थिए । 

सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पनि स्थानीय तहमा अहिले कांग्रेस बलियो भएकाले पनि जित टाढा नरहेको बताए । तर कांग्रेसबीचको एकता अनिवार्य भएकामा उनको जोड थियो । 

इलाम २ 
इलाम २ मा यसअघि एमालेले जितेको थियो । एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र खाली भएको हो । नेम्वाङले त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बर खड्कामाथि संघर्षपूर्ण जित हासिल गरेका थिए । 

जसका कारण यसपालि एमालेलाई जितका लागि निकै संघर्ष गर्नुपर्ने देखिएको छ । एमालेले नेम्वाङकै छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीलाई लिएर एमालेभित्रै फुट देखिएको छ । नेम्वाङ जीवित छन्जेल निरन्तर आफू नै चुनाव लडिरहेको र निधन भएपछिसमेत उनकै छोरालाई उम्मेदवार बनाइएपछि असन्तुष्टि ब्याप्त भएको हो । 

यही असन्तुष्टहरुको मत पनि कांग्रेसले लिने गरी बलियो उम्मेदवार उठाउनुपर्नेमा पदाधिकारीहरुले जोड दिएका छन् । 

उपनिर्वाचनका लागि कांग्रेस क्षेत्रीय कार्यसमितिले चैत ६ गते उम्मेदवारको नाम सिफारिस गरेको थियो । इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।

बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाइएको छ । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधान सभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको छ ।

 बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम तेस्रो नम्बरमा सिफारिस गरेर पठाएको छ । सिफारिस भएका नामहरू जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाएका छन् भने केन्द्रले आज फाइनल गर्दैछ । 

विशेष गरी आचार्य र खड्कामध्ये एकको सम्भावना बलियो रहेको बताइएको छ । इलाम २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ । राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ । 

बझाङ १ (क) 
बझाङ प्रदेश सभा १ का सांसद एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा परी निधन भएको थियो । 

त्यसपछि उक्त क्षेत्र खाली छ । उक्त क्षेत्रमा अहिले स्वर्गीय सिंहका छोरा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएको छ । 

सबै एकसे एक भए पनि स्वर्गीय सिंहका छोरा अभिषेकको सम्भावना बलियो भएको बुझिन्छ । उनलाई सहानुभूतिको भोटसमेत आउने आँकलन भइरहेको छ । दुर्घटनामा उनका बाबुमात्र हैन आमा अमृताकोसमेत निधन भएको थियो । 

देउवाको पहल
उम्मेदवार सहमतिमै छान्नका लागि भन्दै सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठकअघि सिफारिसमा परेका आकांक्षीसँग सामूहिक रुपमा छलफल गर्दैछन् । 

अहिले बिहान उम्मेदवारहरुबीच सभापति देउवाले छलफल गर्न लागेका हुन् । बिहान ९ः३० बजेदेखि छलफल शुरु हुन लागेको उनले बताए । आकांक्षीहरुको कुरा सुन्न र सहमति गर्नका लागि उनले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका हुन् ।

यसले सिफारिसमा परेर उम्मेदवार बन्न नपाएकाहरुलाई सफा मन लिएर उम्मेदवारलाई जिताउन मेहनत गर्नका लागि ऊर्जा मिल्ने कांग्रेसको विश्वास छ । 

एमालेमा आन्तरिक असन्तुष्टिका साथै सत्ता गठबन्धनमा आफ्ना छुट्टाछुट्टै उम्मेदवार उठाउने भएसँगै कांग्रेसले असन्तुष्टका मत पनि जित्ने गरी उम्मेदवार तय गर्न कसरत गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ