काठमाडौँ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भनी त्यति बेला नै घोषणा गरेका थिए । सोही अनुरुप थापाले सोमबार रकम हस्तान्तरण गरेको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।
मन्त्री थापाले अस्पतालमा उपचार गर्न आउने विपन्नलाई सहयोग गर्नका लागि सम्भ्रान्त एवं सम्पन्न वर्गलाई आह्वान गरेका थिए । अस्पतालमा अर्बुद रोगपीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको सो कोषलाई अर्थ अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने भावनाका साथ सशक्त बनाउन निर्देशन दिएका थिए ।
सो निर्देशन अनुसार नै अहिलेसम्म कुनै पनि बालबालिका अर्थाभावका कारण उपचारबाट वञ्चित हुनु नपरेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए । रायमाझीका अनुसार गत वर्ष पुराना पाँच सय ८४ र नयाँ ४५ जनाको उपचार गरिएको थियो । अंकोलोजी वार्डमा २६ श्यया छन् । सन् १९९७ मा बेलायतीले सुरु गरिदिएको कोषमा अहिले चार करोड छ ।
मन्त्री थापाको सहयोग र समर्थनले आफूहरुलाई हौसला बढेको बताउँदै रायमाझीले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । मन्त्री थापाले कान्ती अस्पतालको मात्र नभई अन्य अस्पतालमा स्थापना भएका कोषलाई पनि प्रभावकारी र मजबुत गराउन आग्रह गरेका छन् । रासस