arrow

दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैन- मन्त्री सुमना श्रेष्ठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
sumana-shrestha-12-19.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरूमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताएकी छन् । सोमबारको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  उनले विद्यालय र विश्वविद्यालयबाट दलीय राजनीति अन्त्य गर्नको लागि आफूले काम थालिसकेको बताइन् । उनले शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ५ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने उल्लेख गरिएको भन्दै आफूले सोही ऐनअनुसार काम अघि बढाइसकेको बताइन् । उनले शिक्षा क्षेत्रबाट दलीय राजनीतिकरण हटाउन सके सरकारले अघि बढाएका कार्यक्रमहरु सफल हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘जबसम्म दलीय राजनीति जताततै हाबी हुन्छ, त्यो कहिल्यै पनि सुधिँदैन । त्यस कारण हिजो मैले आह्वान गरेको छु, हाम्रो शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ५ मा स्पष्ट लेखेको छ । शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ खण्ड गमा पनि स्पष्ट लेखिएको छ । यसको लागि काम थालेको छु, आह्वान नै गरेर । यसमा उच्च शिक्षामा पनि र विद्यालय शिक्षामा पनि । त्यसको लागि कानून कुन तहको कानूनमा के कारबाही गर्ने हो ? त्यसको फ्लोर चार्ट नै बनाएर छिटै सबैलाई पनि दिन्छु । तत्तत् निकायहरूसँग समन्वयको कुराकानी शुरु भइसकेको छ । दलीय राजनीतिकरण शिक्षा क्षेत्रबाट हटाउन सक्यो भने बल्ल जति पनि कार्यक्रम लग्छौँ त्यो सफल हुन्छ । नराम्रो काम गर्ने मान्छे पनि राजनीतिक प्रश्रयमा परेकाले जतिसुकै राम्रो काम गरे पनि चित्त बुझ्दैन ।’

मन्त्री श्रेष्ठले देशमा शिक्षाको व्यापारीकरण भएको दाबी गरिन् । उनले शिक्षामा भइरहेको व्यापारको अन्त्य नगरेसम्म शिक्षा क्षेत्रका विकृति हट्न नसक्ने बताइन् । उनले शिक्षामा भइरहेको व्यापारको नियन्त्रण र नियमनका लागि मन्त्रालयले कार्यदल बनाएर अघि बढिसकेको बताइन् । उनले अबका दिनमा निःशुल्क शिक्षासँगै गुणस्तरीय शिक्षाको नारा अघि बढाउन आवश्यक रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ