arrow

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै [भिडियो]

आइतबार बस्ने पार्टी पदाधिकारी बैठकले आवश्यक निर्णय लिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
sabamukh-sachetak.jpg

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।.शनिबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरू कायमै रहेको बताएकी हुन् । 

नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानबिन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ । बैठकमा सभामुख घिमिरेले सदनको अवरोध हटाउनका लागि आग्रह गरेका थिए । त्यस विषयमा आइतबार बस्ने पार्टी पदाधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताइन् । सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धी विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ ।

उनले भनिन्, ‘१८, १९, २०, २१ सम्मको सदन कसरी चलाउने भन्ने विषयमा छलफल भएको थियो । त्यसमा प्रतिपक्षको तर्फबाट मैले राजनीतिक दलसम्बन्धी विधेयक चाहिँ विवादमा जोडिएको हुनाले त्यो विधेयक अहिले नल्याऊ भन्ने सन्दर्भमा २७ गते सार्ने भन्ने हाम्रो सहमति भएको छ । अरू विषयमा चाहिँ अहिले हामीले प्रतिपक्षको ठाउँबाट हेर्दा खेरी हामीले उठाएको विषय संसदीय छानबिन समिति गृहमन्त्रीको विषयमा छलफल नभएसम्म हामीले सदन कसरी लैजाने भन्ने विषयमा भोली हामी पदाधिकारी बैठक बसेर छलफल गर्छौँ । त्यसपछि मात्रै हामी सदनमा कसरी जाने भन्ने बारेमा निष्कर्षमा पुग्छौँ । विगतमा कार्य तालिका बनाएर जाने रहेनछ । हामीले अहिले क्यालेन्डर बनाएर ल्यायौ । त्यो ल्याए पनि कसको कारणले क्यालेन्डर प्रभावित भयो भन्दा खेरी सरकार परिवर्तनको गठबन्धनको कारणले क्यालेन्डर फेरबदल भयो । सभामुख नै विदेश गएर पनि सो क्यालेन्डर प्रभावित भयो ।’

नेपाली कांग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसद्मा प्रस्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ