माधव नेपालले भने– एमाले संविधान संशोधनको पक्षमा छैन
प्रकाशित २०७३ मंसिर ६ सोमबार
719
Shares
नेपालगन्ज । एमाले नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन् । प्रेस चौतारी, बाँकेशाखाले गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘संविधान संशोधन केका लागि ? त्यसको औचित्य पुष्टि हुनुपर्छ । राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता विगार्न संविधान संशोधन गर्न पाइँदैन ।’
एक प्रश्नको जवाफमा नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्रम फैलाउन खोजिएको छ, कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुनै सक्दैन –भने ।
नेता नेपालले भनेका छन्, ‘सबै नेपाली जनताको माग र मुलुकको आवश्यकता स्थानीयदेखि केन्द्रीय तहसम्मको निर्वाचन हो, संविधान कार्यान्वयनका लागि सबैभन्दा पहिले निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्छ ।’
मुलुकले अहिले शान्ति खोजेको छ, राजनीतिक स्थिरता खोजेको छ, आर्थिक समृद्धि र विकास खोजेको छ, तसर्थ यी एजेन्डामा सबै राजनीतिक दल सहमतिमा आउनुपर्छ–नेता नेपालले भने ।