माओवादी केन्द्रकाे बैठक : प्रमुख दलसँग सहमति जुटाउने जिम्मा प्रचण्डलाई
प्रकाशित २०७३ मंसिर ६ सोमबार
676
Shares
काठमाडौँ । सत्ताधारी दल माओवादी केन्द्रले संविधान संशोधनको विषयमा प्रमुख दलसँग सहमति जुटाउनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै जिम्मा दिएको छ ।
पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानको सर्वस्वीकार्यता बढाउने विषयमा आवश्यक पहल गर्न दाहाललाई नै जिम्मा दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।
बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक संरचना र संविधान संशोधनका विषयमा केन्द्रित रहेर छलफल भएको र आज बस्ने प्रमुख दलको शीर्ष बैठकमा आवश्यक निर्णय गर्नसमेत अध्यक्ष दाहाललाई नै जिम्मेवारी दिइएको प्रवक्ता भुसालको भनाई छ ।
साथै पार्टीको आन्तरिक सङ्गठनलगायतका विषयमा आवश्यक निर्णय लिन यही मङ्सिर ११ गते पार्टीको पोलिटब्युरो बैठक आयोजना गरिने भएको छ ।
बैठकमा मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन भइरहेको पहल, प्रमुख तीन राजनीतिक दलको बीचमा भइरहेको छलफल तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेताहरुले सामान्य धारणा राखेका थिए ।
नेताहरुको धारणा सुनेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष दाहालले साँझ प्रमुख तीन दलको शीर्ष नेताको बैठक बस्ने र संविधान संशोधनलगायतका विषयमा छलफल हुने जानकारी गराए ।
प्रधानमन्त्री दाहालले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । मधेस केन्द्रित दलले संविधान संशोधनलगायतका विषयलाई अघि बढाउन १५ दिनको समयसीमा दिएको सन्दर्भमा बैठक महत्वपूर्ण हुने बताइएको छ । यस्तै, पार्टीको आन्तरिक संगठनबारे निर्णय गर्न मंसीर ११ गते पोलिट्ब्यूरोको बैठक बोलाइएको छ ।