arrow

कम्युनिष्ट धागो

कम्युनिष्टहरूको समाजवादी मोर्चामा एमालेलाई जोड्ने प्रयास, विप्लवको पहल, प्रचण्डसँग छलफल

सत्ता गठबन्धनमा वैचारिक दृष्टिकोणले रास्वपा एक्लिने चिन्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
prachanda-oli-singhadarwar-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस सहितको गठबन्धन भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनाएको समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि राख्न पहल थालिएको छ । 

बिहीबार साँझ नेकपा अध्यक्ष एवं अहिले मोर्चाको अध्यक्ष सम्हालिरहेका नेत्रविक्रम चन्दले एमालेलाई पनि सहभागी गराउन पहल थालेका थिए । ओलीले अहिले तपाईहरु नै यसमा भएकाले एमाले आउनु आवश्यक नभएको र आवश्यक परे बृहत् वामपन्थी एकताकै पहल गरौँला भनेर पठाएका थिए । 

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल गरेको थियो । शुक्रबार दिउँसो भने ओली र प्रचण्डबीच नै यही विषयमा छलफल भएको छ । 

केपी ओलीले अहिले प्रचण्डले जे भन्यो त्यही मानिरहेका छन् । यसलाई पनि सहजै ग्रहण गर्दै जाने उनको हाउभाउले देखाएको छ । एउटै मोर्चा बनेपछि संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक पारित गर्न सजिलो हुने माओवादी केन्द्रको निष्कर्ष छ । 

टीआरसी विधेयक पारित भए विप्लवलाई पनि आनन्द हुनेछ । तत्कालीन समयमा प्रचण्डले एमालेलाई छुटाएर समाजवादी मोर्चा बनाएका थिए । नेपाली कांग्रेसलाई वामपन्थी शक्ति देखाउने गरी उनले त्यतिबेला समाजवादी मोर्चा तयार गर्दा एमालेको आवश्यकता ठानेका थिएनन् । 

अहिले भने विप्लवलाई अघि सारेर मोर्चामा एमालेको सहभागिता खोजिरहेका छन् । २०७९ पुस २६ गते २७० उपस्थित सांसदमध्ये २६८ विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले २०७९ को चैत ६ गतेको विश्वासको मत पाउने बेलामा १६८ मतमात्र पाएका थिए । 

प्रचण्डले त्यतिबेला नै कांग्रेसलाई तर्साउने हतियारको रुपमा यो मोर्चा तयार गरेका थिए । त्यतिबेला प्रचण्डले संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेसको दर्बिलो साथ पाइरहेका थिए । एमालेसँग भन्दा उनले कांग्रेससँगको सत्ता साझेदारी सहज महसुस गरेका थिए ।  

त्यही कारण उनले एमालेसँगको समीकरण टुटाएर, पुरानै गठबन्धन ब्युँताएको बताउँदै आएका थिए । तिनै प्रचण्डले २०८० असार ४ गते समाजवादी मोर्चा बनाए । जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, र विप्लवको साथ लिएर बनाएको मोर्चामा एमालेलाई छुटाएका थिए । 

सत्ता गठबन्धनमै रहेका दल लिएर अलग्गै समाजवादी मोर्चा तयार गरेपछि राजनीतिक वृत्तमा टीकाटिप्पणी शुरू भएको थियो । समाजवादी मोर्चाबारे बहस चलाउनेमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि थिए । 

अन्तिममा मोर्चा घोषणा हुँदा उनै बाहिर बसे । ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो,’ उनले ट्विटमार्फत् भनेका थिए, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् । केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’ 

प्रचण्डले अहिले भट्टराईको पार्टी पनि फुटाएर एक्लो बनाइदिएका छन् । पछिल्लो पटक ओलीलाई भेटेपछि समाजवादी मोर्चाको बैठक बालवाटारमा बसेको छ । पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको छ ।  मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । ओलीले यो मोर्चाको औचित्य नभएको भन्दै आए पनि सत्ता साझेदारीमा रहेसँगै उनको पार्टी पनि मोर्चामा समाहित हुने विश्लेषण भइरहेको छ । 

सत्ता गठबन्धनमा यदि एमाले पनि समाजवादी मोर्चामा सहभागी भए रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एक्लो हुनेछ । त्यसपछि भने राजनीतिले थप रोचकता पाउने अड्कलसमेत भइरहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ